नेकपा स्थायी कमिटी बैठकः दाहालको पत्र औपचारिक बैठकमा छलफल गर्न नसकिने अध्यक्ष ओलीको अडान

राष्ट्रपाटी न्युज

२१ मंसिर २०७७

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को छैटौं स्थायी कमिटी बैठकमा दुई अध्यक्षको प्रस्ताव प्रस्तुत गरिएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा आइतबार बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव छलफलका लागि वितरण गरिएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दुई अध्यक्षका प्रस्ताव र विभिन्न पत्रहरु अध्ययनका लागि सात दिनको समय दिइएको छ ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पूर्वमान्यताअनुसार नै अध्यक्ष दाहालको पत्र औपचारिक बैठकमा छलफल गर्न नसक्ने भन्दै त्यस्तो बैठकमा आफू सहभागी नहुने अडान राख्नुभएको छ । उक्त पत्र सचिवालय सदस्यसमेत रहनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले वाचन गर्नुभएको थियो ।

अध्यक्ष ओली अनुपस्थित भएपछि दाहालको अध्यक्षतामा बैठक बसेको थियो ।

बैठकमा अध्यक्ष दाहालले पार्टीको विशिष्ट, गम्भीर र संकटपूर्ण पार्टी जीवनलाई सकारात्मक ढंगले समाधान गर्ने गरी छलफल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

बैठकले मंसिर २५ गतेका लागि तोकिएको केन्द्रीय कमिटीको बैठक पुस ५ गतेका लागि सारिएको छ ।

स्थायी कमिटीको अर्को बैठक आगामी मंसिर २८ गते दिउँसो १ बजे बस्नेछ ।


Published :२१ मंसिर २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media