राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधिसभा विघटन, वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन हुने

काठमाडौं, पुस ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वर्तमान प्रतिनिधिसभा विघटन र २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नुभएको छ । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यो निर्णय गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा सो कुरा उल्लेख छ ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिको पूर्ण विवरण यस प्रकार छ

आज मिति २०७७ साल पुस ५ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा हाम्रो आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली जनतासमक्ष जान मिति २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल वेशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नुभएको छ ।


Published :५ पुष २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media