तर्क वितर्क नगरौँ, चुनावमा जाऔँ : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र निर्वाचनका विषयमा अनेक तर्क वितर्कमा लाग्नुभन्दा चुनावको तयारीमा जुट्न सम्पूर्ण राजनीतिक दललाई आह्वान गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरुले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले प्रतिनिधिसभा विघटनको सिफारिस गरिरहँदासम्म आफूमा बहुमत प्राप्त दलको संसदीय दलमा सर्वसम्मत नेताका हैसियत रहेकाले सो कदमप्रति अलमल र भ्रममा नपर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एउटै पार्टीको बहुमतको सरकार भएकाले संविधानको धारा ७६ को उपधारा १ अनुरुप नै मेरो नेतृत्वमा सरकार गठन भएको हो, त्यसमा कसैलाई अलमल नहोस् ।’’

सरकारको सिफारिसमा कार्यसम्पादन गर्ने गरी सक्रिय नभई आलङ्कारिक राष्ट्रपतिको संवैधानिक व्यवस्था रहेको स्मरण गराउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘राष्ट्रपतिको गरिमाप्रति पुरातन सोच भएका र मुलुकलाई पछाडि फर्काउन चाहने तत्वले सङ्कीर्ण दलीय स्वार्थबाट प्रेरित भई हिलो छयाप्न खोजेका छन् ।’’


Published :२६ पुष २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media