मुलुकको स्थायित्वका लागि निर्वाचन अपरिहार्यः प्रधानमन्त्री ओली

काठमाडौं, माघ २३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतामा लग्ने कि स्थायित्व तर्फ लग्ने त्यसको फैसला गर्न नयाँ जनादेशमा जाने निर्णय सरकारले गरेको बताउनुभएको छ ।

नेकपा बागमति प्रदेशद्वारा शुक्रबार दरवारमार्गमा आयोजित बृहत आमसभामा बोल्दै उहाँले जनताले चुनावमार्फत देशको स्थायित्व चाहेको उहाँले चर्चा गर्नुभयो । “आमसभाको उपस्थितिले मूल पार्टी यही हो भन्ने प्रमाणित भएको छ, अब पनि कसैलाई भ्रममा छ भने कठबरा मात्र भन्न सकिन्छ” उहाँले भन्नुभयो, “यो पार्टी सार्वभौमसत्ताको रक्षा, स्वाधीनताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, मुलुकको समृद्धि, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने पार्टी हो ।”
“हामी कसैलाई धम्की दिंदैनौं, आग्रह गर्छौ, अनुरोध गर्छौ” प्रधानमन्त्री ओलीले थप्नुभयो, “सर्वोच्च अदालत, निर्वाचन अयाोगलाई उहाँहरुले धम्की दिनुभयो, यी संस्थाले स्वतन्त्रतापूर्वक विवेकसम्मत ढङ्गले निर्णय गर्न पाउनेछन् ।” देश चुनावतर्फ अब गयो गयो भन्दै उहाँले अव सबै चिज चुनावले फैसला गर्ने उहाँले प्रष्ट पार्नुभयो ।
“आमसभा बिथोल्न हिजो तथाकथित नेपाल बन्द गरियो, श्रमजीवीको काम गर्छु भन्नेहरुबाट बाटाभरी बुढीआमाका तरकारी सडकमा फ्याँकियो, गरिब ट्याक्सीवालालाई झुक्याएर आगो लगाउने काम भयो” उहाँले प्रश्न गर्नुभयो, “गरिब ट्याक्सीवालालाई गाडीभित्रै जलाउन खोज्ने पार्टी कसरी गरिबमुखी पार्टी हुन्छ ?” अब नेपालमा कसैले हिंसा मच्चाउन नसक्ने भन्दै उहाँले देश अब अशान्तिको भुमरीमा जान नसक्ने बताउनुभयो । यहाँ कसैले नरभक्षी आन्दोलन चलाउँछु भनेर नसोचे हुन्छ उहाँले भन्नुभयो ।
बन्दको बहानामा गरिएको गरिबको नोक्सान सरकारले क्षतिपूर्ति दिन्छ प्रधानमन्त्री ओलीले भन्नुभयो, “क्षति तपाईहरुले गर्नुहुन्छ, क्षतिपूर्ति सरकारले दिन्छ, गरिबलाई हेर्ने यो देशमा सरकार छ ।” शान्तिका लागि लड्ने सरकार छ, जनता ढुक्क हुनुहोस् आव्हान गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल बन्द गरेर जनतालाई तर्साउन खोजियो, बाटामा खाल्डा खन्ने काम भयो, बाटामा बम राखेर विप्लव लेख्ने काम पनि भयो ।”
आफूले गरेको कामको जिम्मेवारी लिन नसक्ने अनि क्रान्तिकारीको ठूलो नारा लगाउने ? जिज्ञासा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “जब जनताको सागर उर्लिन्छ, तब त्यस भेललाई कसैले कुनै शक्तिले छेक्न सक्दैन ।” आज इतिहासमै कहिल्यै नभएको जनसभा आज काठमाडौंमा भइरहेको उहाँले दावी गर्नुभयो । देश र जनताको पक्षमा सरकारले निरन्तर काम गरिरहने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
मुलुकको कुनै पनि नागरिक बेसहारा नहुने प्रष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले थप्नुभयो, “नेपालमा कोही बेसहारा हुँदैन, कोही भोकै मर्नुपर्दैन ।” सरकार नै नागरिकको अभिभावक भएकाले सबै नागरिकको सुरक्षाको प्रबन्ध मिलाएको उहाँले चर्चा गर्नुभयो । कोही कोही फोटो खिच्न र नाटक गर्न गरिबलाई सहयोग गरेकोजस्तो गरेपनि वास्तविक सहयोग सरकारले गरिरहेको उहाँले बताउनुभयो ।
समृद्ध नेपाल र सुखी नेपाली बनाउने मुल लक्ष्यसाथ सरकारले काम गरिरहेकाले केही तत्वहरु त्यही हुन नदिन विभिन्न बहानामा अवरोधको प्रयास गरिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले थप्नुभयो, “पूर्व–पश्चिम रेलको बाटो शुरु भएको छ, चाँडै नेपालको पूर्व–पश्चिम रेल सञ्चालन हुँदैछ ।” भारत र चीनतर्फ बाट नेपालमा रेल गुडाउने सहमति भएको उहाँले बताउनुभयो । काठमाडौंदेखि केरुङ पुग्न एक घण्टामा पुग्ने राम्रो बाटो बनाउँदै छौं, नेपाललाई सुरुङमार्गमा प्रवेश गराएका छौं उहाँले भन्नुभयो ।
अब नेपाली युवालाई स्वदेशमै रोजगारको कार्यक्रम बनाएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशमै उद्योग, कलकारखाना सञ्चालन गरेर युवालाई विदेश जान नदिने वातावरण निर्माण भइरहेको छ ।” बढ्दै गएको कोभिड १९ पनि नियन्त्रणमा आइसकेकाले केही समयपछि मुलुकबाटै कोभिड १९ समाप्त हुने बताउनुभयो । जनताको जीवनरक्षाको काममा सरकारले प्राथमिकता दिएको उहाँले चर्चा गर्नुभयो ।
सामाजिक सुरक्षा भत्तामा बृद्धि गर्ने र काम गरेबापत सबैका लागि पेन्सनको व्यवस्था मिलाउने काम सरकारले गरिरहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले थप्नुभयो, “जनवाद ल्याउने सुन्दर सपना देखाएर युवालाई लडाइयो, तिनीहरु आज पीडित छन्, सबैको हेरचाह गर्न सरकारले समिति बनाएर काम गरिरहेको छ ।” घाइते सबैको उपचारको प्रबन्ध, अनाथ बालबालिकाको शिक्षा र लालनपालन सरकारले गर्ने व्यवस्था मिलाएको उहाँले प्रष्ट पार्नुभयो ।
अलमलमा पर्नेहरुलाई सम्झाई बुझाई देश निर्माणको यस अभियानमा सरिक गरौं प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशलाई भ्रष्टाचारमुक्त बनाई छाड्ने लक्ष्य मैले लिएको छुँ, तर विभिन्न बहानामा त्यसलाई भड्काउने प्रयास भइरहेकै छ, त्यसलाई सफल बनाएरै छाडिने छ ।” नेपाली भूभागसहितको पछिल्लो राजनीतिक तथा प्रशासनिक नक्सा छापिएपछि मलाई हटाउने अभियान केही तत्वहरुले शुरु गर्नुभएको उहाँले टिप्पणी गर्नुभयो ।
दुई–चारजना मान्छे पार्टी छाडेर जाने वित्तिकै संवैधानिक आयोगले पूर्णता पाएको छ, यसअघि काम गर्न नदिएर समस्या भएको थियो प्रधानमन्त्री अ‍ोलीले थप्नुभयो, “पार्टीमा ती नेताहरु रहुन्जेल काम गर्न सकिएन, अब उहाँहरु पार्टी छाडेर गएपछि आयोगले पूर्णता पायो ।” आयोगले पूर्णता पाएको भोलिपल्टै नेपाल बन्द गरेर ती तत्वहरु जनताको पक्षमा नरहेको स्पष्ट भएको उहाँले बताउनुभयो ।
जनताको सचेत सोच र निर्णयप्रति धन्यवाद व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, जनताको बल र शक्तिले नै नेपाललाई समृद्ध बनाई छाड्ने बताउनुभयो । आमभेला गर्दा केही जनतालाई दुःख भएकाले त्यसप्रति प्रधानमन्त्री ओलीले दुःख व्यक्त गर्नुभयो । “हामीलाई ललकार्ने काम भयो, त्यसैले हामी सडकमा आउन बाध्य भयौं” उहाँले प्रष्ट पार्नुभयो ।
नेपाली जनता सचेत भइसकेकाले लोकतन्त्र कसैले भाँड्न नसक्ने बताउनुभयो । यो देश अब अघि बढ्यो बढ्यो प्रधानमन्त्री ओलीले भन्नुभयो, “कसैले मुलुकको लोकतन्त्रमाथि कड्के नजर नलगाए हुन्छ, जनताले अब प्रतिगमन सहँदैनन् ।” मुलुकको स्वाधीनता, स्वाभिमान, सार्वभौमसत्ता, लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफूहरु लागिपरेको उहाँले बताउनुभयो ।
काम गर्न नदिने अनि सरकारले काम गरेन भन्ने भ्रम फैलाउनेहरु विरुद्ध जनताको ताजा जनादेश लिन निर्वाचनमा जाने निर्ण भएको उहाँले बताउनुभयो । “बेलायतमा लिखित संविधान छैन, तर त्यहाँको प्रधानमन्त्रीले संसद विघटन गर्न सक्छ, सरकारले संविधानलाई टेकेर प्रतिनिधिसभा विघटन गरेर नयाँ जनादेशमा जाने निर्णय गरेको हो” उहाँले भन्नुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्र लडेर ल्याएको उपलब्धि भएकाले यसलाई खतरामा पर्न नदिइने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । कसै कसैले ओलीले राजतन्त्र फर्काउन खोजिरहेको छ भनेर जनतामा भ्रम फैलाउने काम गरिरहेका छन्, त्यस्तो भ्रममा नपर्नुहोला उहाँले भन्नुभयो । आफ्नो ज्यान जोखिममा राखेर देश र जनताका लागि लड्ने शहीदहरुको सपना चकनाचुर हुन नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

नेपाल अब बिजुलीमा आत्मनिर्भर भएको प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभएको छ । “फेरि लोडसेडिङ आउँछ कि भन्ने भ्रम फैलाउने काम भएको छ, जनताहरु ढुक्क हुनुहोस् हामी विजुलमा आत्मनिर्भर मात्र होइन, बिक्री गर्ने ठाउँमा पुग्दैछौं” उहाँले भन्नुभयो । विभिन्न आयोजनाहरुको निर्माण सम्पन्न हुने चरणमा रहेको र विद्युत ट्रान्समिसनका लागि निर्माणको काम सरकारले गरिरहेको उहाँले बताउनुभयो ।
जलस्रोत र खानीले भरिएको देश नेपाल भएकाले अध्ययन अनुसन्धान गरी खानी उत्खनन्को काम सरकारले गरिरहेको बताउनुभयो । पर्वतको फलाम खानीबाट निस्किने फलामबाट स्टिल र फलाममा आत्मनिर्भर हुन सकिने उहाँले बताउनुभयो । जाजरकोटको तामाखानी, दैलेखबाट पेट्रोल, वैतडीबाट फोस्फोरसको खानीको उत्खनन्को काम भइरहेको बताउनुभयो ।
आजको भेला काष्टिङमात्र भएको प्रष्ट पार्नुहुँदै अध्यक्ष ओलीले फागुन १ गते बुटवलमा अर्को ठूलो कास्टिङ हुने बताउनुभयो । ८ गते विराटनगरमा पनि त्यस्तै काष्टिङ हुने प्रष्ट पार्नुभयो । आयोजक मित्रहरु मन थामेर बस्नुस्, हेर्दै जानुस् नेपाल कता जान्छ । नेपाललाई समाजवादतर्फ जानबाट कसैले रोक्न नसक्ने उहाँले बताउनुभयो । आमसभामा उत्साहजनक उपस्थिति देखिएकोभन्दै उहाँले कार्यकर्ता, युवा विद्यार्थीै, महिला तथा आम नागरिक सहयोग गर्ने सबै मिडियाकर्मीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
पार्टी नेता तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले गर्नुभएको थियो ।


Published :२३ माघ २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media