तत्काल आतङ्कित हुनपर्ने अवस्था छैन : स्वास्थ्य मन्त्री त्रिपाठी

राष्ट्रपाटी न्युज

२४ चैत्र २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढे पनि आतङ्कित हुनुपर्ने अवस्था नरहेको बताएका छन् । त्रिकाल प्रोडक्सनले आयोजना गरेको नेपाल स्वास्थ्य सम्मेलन–२०२१ को उद्घाटन गर्दै उनले छिमेकी मुलुक भारतमा कोभिड–१९ को सङ्क्रमण बढे पनि नेपालमा सङ्क्रमण बढ्न नदिने बताए । उनले भारतमा सङ्क्रमण बढ्दै गएकाले नेपालमा पनि फेरि सङ्क्रमणको जटिलता थपिएको बताएका छन् ।

उनले सीमा नाकामा एन्टिजेन परीक्षण गरेर सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गरिने जानकारी दिए । मन्त्री त्रिपाठीले सीमा नाकाबाट आउने सङ्क्रमितलाई राख्न आइसोलेसन, क्वारेन्टाइन बनाउने कार्य पनि शुरु गरिएको बताए । सञ्चारमाध्यमलाई सङ्क्रमणको त्रास फैलाउने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै उनले अहिले सङ्क्रमणको कारणले आतङ्कित हुनुपर्ने अवस्था नरहेको दाबि गरे। “आतङ्कित हुनु भनेको सङ्क्रमणलाई बढवा गर्नु हो । आतङ्कित नभई कोभिड–१९ को सावधानी र सतर्कता अपनाउनुपर्दछ ।” मन्त्री त्रिपाठीले भने। पुनः लकडाउनको अवस्थामा सरकार नजाने स्पष्ट पार्दै त्यस अगाडि गर्नुपर्ने महत्वपूर्ण कदम सरकारले चाल्ने जानकारी दिए।

उनले चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ भोलिदेखि लगाउन शुरु गर्ने जानकारी दिए । भोलिदेखि ४० देखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई उक्त खोप दिइने छ ।सम्मेलनमा नेपालका लागि अमेरिकाका राजदूत ¥याण्डी वेरीले अमेरिकी सरकारले नेपाललाई स्वास्थ्य क्षेत्रमा सहयोग पु¥याउँदै आएको भन्दै कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सहयोग गर्दै आइरहेको जानकारी दिएका थिए । सम्मेलनमा स्वास्थ्य क्षेत्रले भोगिरहेका चुनौती र कमजोरीमाथि छलफल गर्दै सरकारलाई स्वास्थ्य नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्य रहेको छ । सम्मेलनमा स्वास्थ्य साक्षरता, कोभिड–१९ महामारी र दिगो विकास लक्ष्य स्वास्थ्य नीति पुनरावलोकन लगायत विषयमा बहस गरिने छ ।।


Published :२४ चैत्र २०७७


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media