फेरी पनि ओली नै प्रधानमन्त्री बन्ने निश्चित,महन्थ र माधब नेपाल पनि ओलीकै पक्षमा

राष्ट्रपाटी न्युज

३० बैशाख २०७८

काठमाडौं । कांग्रेस-माओवादी गठबन्धनले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएपछि अब एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त हुने निश्चित भएको छ ।
ओली हटाउने सन्दर्भमा जसपाको महन्थ ठाकुर पक्ष असहमत हुनु र एमालेको माधव नेपाल पक्षले राजीनामा नदिनुले बहुमत नपुगेसँगै कांग्रेस माओवादी गठबन्धन शीतल निवास जाने कुराबाट ब्याक भएको हो ।

राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत दावी गरेर आउन दिएको समय आज राति नौ बजेबाट सकिदैछ । त्यसअघि नै कांग्रेस बैठकले वैकल्पिक सरकारको दावी नगर्ने निर्णय गरिसकेको छ ।
यसैबीच जसपा अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटारमा छन् । ओली र माधव नेपालबीच वार्ता चलिरहेको बेला बालुवाटार छिरेका ठाकुर र महतोले प्रधानमन्त्रीसँग नयाँ सरकार गठनका सन्दर्भमा छलफल गर्दैछन् ।

कांग्रेसले प्रधानमन्त्री ओली एमालेको १२१ सिट र जसपाको महन्थ ठाकुर पक्षको समर्थन लिएर बहुमतको प्रधानमन्त्री दावी गर्न जाने आशंका गरेको छ । तर बालुवाटार स्रोतले भने ९ बजेको डेडलाइन सकिएपछि अर्को प्रक्रिया शुरु हुने भन्दै ठूलो दलको हैसियतमा वा जसपासहितको बहुमत दावी गर्ने हैसियतमा दुवै अवस्थामा ओलीका लागि सहज रहेको जनाएको छ ।
यसैबीच वैकल्पिक सरकारको नेतृत्व गर्ने प्रयासमा रहेको प्रमुख विपक्षी नेपाली कांग्रेस प्रतिनिधिसभाको बहुमत जुटाउन नसकेपछि त्यसबाट पछि हटेको छ । कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले जसपाको महन्थ ठाकुर पक्षका कारण बहुमत नभएकाले राष्ट्रपति समक्ष दावी पेश गर्न नजाने जानकारी गराएका हुन् ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले वैकल्पिक सरकारको सम्भावना टरेको छ । तर कांग्रेसले केपी शर्मा ओलीलाई राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नै प्रधानमन्त्री नियुक्त गर्न भने नमिल्ने बताएको छ ।

कांग्रेस बैठकमा एमालेको माधव नेपाल पक्ष समेत ओलीसँग मिलेको र महन्थ ठाकुर पक्षको समेत समर्थन लिएर ओलीले दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त प्रधानमन्त्री हुन सक्ने विश्लेषण गर्दै त्यसो गर्न नमिल्ने जनाएको हो ।


Published :३० बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media