एमाले कार्यदल बैठक १ बजे

काठमाडौँ : एमाले नेता माधव नेपाल पक्षका नेता तथा कार्यदलका सदस्य रघुजी पन्तका अनुसार दिउँसो १ बजे पुनः कार्यदलको बैठक बस्ने भएको छ। सिंहदरवारमा दिउँसो १ बजे बैठक राखिएकाले अन्तरिक विवाद समाधानार्थ आवश्यक छलफल हुने उनले जानकारी दिए । उता नेता नेपाल विपक्षी गठबन्धनको बैठकमा भाग लिन बुढानिलकण्ठ देउवा निबास पुगेका छन् । त्यसले कार्यदलको बैठकलाई सहयोग नपुग्ने केही नेताहरुको बुझाई छ ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार बहुमत जुटाएर प्रधानमन्त्रीमा नियुक्त हुनेले उपधारा ६ अनुसार उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, उपधारा ७ अनुसार उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महीनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने व्यवस्था गरेको छ ।

राष्ट्रपति भण्डारीको आव्हानअुसार साँझ ५ बजेसम्म बहुमतको सरकार गठनमा दलहरु असफल भएमा स्वतः देशको राजनीति उपधारा ७ अनुसार अगाडि बढ्ने धेरैको बुझाई छ । यद्यपि ५ बजेसम्म समय कायमै रहेकाले एमाले एकतावद्ध हुनसकेमा अध्यक्ष ओलीकै नेतृत्वमा जसपाका महन्थ ठाकुर पक्षलाई सरकारमा ल्याएर पुनः बहुमतको सरकार गठन हुने सम्भावना पनि जीवितै छ । सरकार गठनको सबै विकल्पबारे दलका नेताहरु आन्तरिक छलफल गरिरहेका छन् ।


Published :७ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media