धवलशम्शेर राणाले किन गरे राष्ट्रियसभा उपनिर्वाचन बहिष्‍कार ?

राष्ट्रपाटी न्युज

१७ जेष्ठ २०७८

बुटवल : नेपालगञ्‍ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले राष्ट्रियसभा सदस्यको उपनिर्वाचन बहिष्‍कार गरेका छन् । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि आज सोमबार उपनिर्वाचन बहिष्‍कार गरेको मेयर राणाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

कोभिड-१९ संक्रमणलाई परास्त गर्न सामुहिक रुपमा लड्नुपर्ने बेलामा ठूला दलहरूको जुधाई नागरिकका लागि नभई सत्ता स्वार्थका लागि भएकोले आफूले मतदान बहिष्‍कार गर्ने निणर्य गरेको राणाले जानकारी दिए । उनले भनेका छन्, ‘मेरो प्राथमिकता मतदान होइन, कोभिडसँग जुध्नु हो ।’

यो सामूहिक महामारीका रूपमा देखापरेकाले सबै दलहरूले सत्ता र स्वार्थभन्दा माथि उठेर यसको नियन्त्रणमा लाग्‍नुपर्ने उनले बताए । रोकथाम, नियन्त्रण वा निर्मूलीकरण आदि जेसुकै भए पनि दलहरूले सामुहिक प्रयासबिना कोरोनाजस्ता जुनसुकै महामारीविरुद्ध लड्न पनि कठिनाइ हुने कुरा भुल्न नहुने उनले बताए ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज हुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन । मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्‍ने रहेकोले काँग्रेस, एमाले र माओवादीको यो अबस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निणर्य गरेको छु, धन्यवाद !!’

घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको छ । मतदान दिउँसो ३ बजेसम्म मतदान गर्ने समय तोकिएको छ । सोमबार नै नतिजा घोषणा हुनेछ । नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव पक्ष, जसपा उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।


Published :१७ जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media