मलाई बहुला कुकुरले टोकेको छ र ?- प्रधानमन्त्री वली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको बताएका छन् ।

जननेता मदनकुमार भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण तथा पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्ष ओलीले भने , “माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता हुन् । अहिले धाक लगाएर हिँडेका छन्– केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर । मलाई बहुला कुकुरले टोकेको छ र ? नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?”
केही अघि विपक्षी गठबन्धनको पत्रकार सम्मेलनमा नेता नेपालले आफूलाई प्रधानमन्त्रीको ‘अफर’ आएको तर देउवालाई धोका नदिने बताएका थिए ।

नेता नेपालले २०६३ सालमा हिमाल टाढाबाट देख्दा मात्रै राम्रो देखिन्छ भन्ने खालका मदन भण्डारीको अवमूल्यन गर्ने अभिव्यक्ति दिएको र आफूलाई आवश्यक पर्दा मात्र भण्डारीको नाम लिने गरेको उनले बताए ।

प्रधानमन्त्री ओलीले भने , “माधव नेपाललाई कानमा भजनको चिनी हालिदिएको मन पर्छ । कहिले शेरबहादुर देउवा र कहिले प्रचण्डले त्यस्तो चिनी हालिदिएका छन् ।”

उनले नेता भण्डारी नामले नै एउटा विचार एउटा आन्दोलन, एउटा राजनीतिक हिसाबले सुसभ्य सुसंस्कृत विकसित राष्ट्र निर्माण गर्ने सही प्रयासको संगम भएको बताउदै भण्डारीका विचारलाई कार्यान्वयन गर्नुपर्ने उत्तरदायित्व पूरा गर्न भने बाँकी नै रहेको बताएका थिए ।

भण्डारी सही विचार चिन्तक हुनुका साथै तिनको कार्यान्वयनका लागि अगुवाइ र संगठित प्रयास गर्ने व्यक्ति भएको जनाउँदै त्यसैले केही वर्षअघि सञ्चारमाध्यमले गरेको सर्वेक्षणले २० औं शताब्दीको नेपाली राजनीतिलाई सबै भन्दा बढी प्रभावित गर्ने भण्डारी शताब्दी नायक भएको बताएका थिए ।


Published :१४ असार २०७८


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media