संसद नियमावली तयारः कार्यपालिकालाई जवाफदेही र विधेयक निर्माणलाई गति दिने

राष्ट्रपाटी न्युज

बैशाख ७, २०८३

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संसदको नयाँ नियमावली तयार गरेको छ। सिंहदरबारमा सोमबार बसेको समितिले बैठकले कार्यअवधिको १३औं दिनमा मस्यौदाका सम्पूर्ण कुराहरू टुङ्गो लगाएर नयाँ नियमावली तयार गरेको मस्यौदा समितिका सभापति गणेश पराजुलीले बताए ।

नियमावली मस्यौदाका शुद्धाशुद्धी र केही क्रमहरू मिलाउने काममात्रै बाँकी रहेकाले मंगलबार त्यसलाई मिलाएर सभामुखलाई बुझाइने उनले जानकारी दिए । उनका अनुसार कार्यपालिका र व्यवस्थापिका बीचमा भएका मतभिन्नताहरूलाई न्यूनीकरण गर्ने र जवाफदेहीता खोज्ने कामलाई नयाँ नियमावलीमा जोड दिइएको छ । उनले संसदीय समितिहरूले कार्यपालिकालाई निर्देशन दिँदै गर्दा त्यसको जवाफदेहीता खोज्नका लागि समयसीमा तोकेर तीस दिनभित्र आफूले दिएको निर्देशनअनुसार कामकारबाही अगाडि बढेको छ कि छैन भनेको प्रगति विवरण माग्ने गरी बुँदा राखिएको बताए।

त्यस्तै व्यवस्थापिकाले दिएका सबै निर्देशनको संशोधन वा पुनर्मूल्यांनका लागि तीस दिनभित्रै जानकारी गराउनुपर्ने व्यवस्था पनि समावेश गरिएको छ । विधेयक निर्माणका क्रममा हुने गरेको ढिलाईलाई अन्त्य गर्न समयसीमा तोकेर प्रक्रिया अघि बढाउने विषयलाई पनि प्राथमिकता दिइएको छ । मस्यौदा समितिलाई दिइएको १४ दिने समयसीमा मंगलबार नै सकिँदैछ ।

संविधानको धारा १०४ अनुसार यो नियमावली नै संसदको मूल कानून भएको भन्दै सोही आशय अनुरुप सुधारका कामहरू गरिएको समितिले जनाएको छ । विधेयक निर्माण प्रक्रियामा समितिहरूलाई समयसीमा तोकिएसँगै अब कानून निर्माणको गतिले तिब्रता पाउने अपेक्षा गरिएको छ । यससँगै प्रतिनिधि सभा सञ्चालनमा नयाँ आयाम थपिने र कार्यपालिकामाथि व्यवस्थापिकाको नियन्त्रण र सन्तुलन थप प्रभावकारी हुने देखिएको छ ।


Published :बैशाख ७, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media