नेपाल पक्षको साथ पाएपछि शंकर पोखरेलको संकट टर्यो

राष्ट्रपाटी न्युज

३० जेष्ठ २०७८

रुपन्देही । अल्पमतमा रहेको भनिएको लुम्बिनी प्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम आज प्रदेशसभाको बहुमतबाट पारित भयो । यससँगै सरकारमाथि उठेको वैधानिकताको प्रश्न समाप्त भएको सत्तापक्षको बुझाइ छ ।नीति तथा कार्यक्रम निर्णयार्थ पेश हुँदासम्म पारित हुने-नहुने अन्योल थियो । विपक्षी दलहरुले सरकार अल्पमतमा रहेकाले नीति तथा कार्यक्रम र बजेट ल्याउन नमिल्ने बताइरहेका थिए । माधव नेपाल पक्षका सांसदहरुले पनि सरकारलाई साथ दिन्छन्-दिँदैनन् भन्ने एकिन थिएन ।

नीति तथा कार्यक्रम पारित नभएको अवस्थामा मुख्यमन्त्री शंकर पोखरेललाई ठूलो नैतिक दवाव पर्ने थियो । तर, तत्कालका लागि उनको संकट टरेको छ र बजेट ल्याउन पनि बाटो खुलेको छ ।
एमाले सांसदहरु नीति तथा कार्यक्रम पारित भएपछि सरकारको बहुमत सिद्द भएको बताउँछन् । माधव नेपालपक्षीय भनेर चिनिएका सांसद विष्णु पन्थीले बहुमतले सरकारको प्रस्ताव पारित हुनुले नै बहुमत प्रष्ट भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘नीति तथा कार्यक्रम बहुमतले पारित भयो, सरकारको बहुमतका विषयमा उठेको विवाद अन्त्य भएको छ । विपक्षीले उठाएका विषय आफ्नै ठाउँमा होलान् ।’

प्रदेश सरकारमा सहभागी सत्तारुढ नेकपा एमालेका ३८ जना र जसपाका ४ जनाले समर्थन गरेकाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए । प्रदेशसभामा कांग्रेसका १९, माओवादीका १८, जसपा उपेन्द्र समूहका २ र जनमोर्चाका १ गरी ४० सांसद विपक्षी गठबन्धनमा रहेका छन् ।

आइतबारको प्रदेश सभा बैठकमा सबै सांसद उपस्थित थिए र सभाहल भरिभराउ थियो । प्रदेशसभामा आफ्नो धारणा राख्दै माधव नेपालका पक्षमा गनिएका सांसद पन्थीले सरकारको पक्षमा बोलेपछि विपक्षी दलका सांसदहरु अचम्ममा परेका थिए । छलफलका क्रममा विपक्षी गठबन्धनका सांसदहरुले भने नीति कार्यक्रमको विषयबस्तु भन्दा पनि प्रदेश सरकारको आधिकारिकताबारे प्रश्न उठाउनमा समय खर्चिए ।


Published :३० जेष्ठ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media