तत्काल पार्टी एकताको विपक्षमा किन उभिए माधव नेपाल ?

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाअघि केपी ओलीसँग कुनै सम्झौता नहुने प्रष्ट पारेका छन् । आफू निकट केन्द्रीय सदस्य र सांसदहरुसँग आइतबार छलफलका क्रममा नेता नेपालले आफूले पद नखोजेको समेत प्रष्ट पारेका छन् ।

केन्द्रीय सदस्यहरुसँग नेपालले भने- सर्वोच्चको फैसलाले एकखालको राजनीतिक शक्ति सन्तुलनको स्थिति बनाउछ । त्यसपछि दुवै पक्षले आफ्नो शक्ति बुझिन्छ र बदलिदो परिस्थितिमा सम्झौता हुनसक्छ । २८ गते रियालिटी परिवर्तन हुँदैछ भने २७ गते किन सम्झौता गर्ने ?

बैठकमा नेता नेपालले आफूलाई अध्यक्ष वा प्रधानमन्त्री पद नचाहिएको बताएको पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए । तर केपी ओलीको अनियन्त्रित राज्य र पार्टी सन्चालनको तरिकामा अंकुश लगाउन आवश्यक रहेकाले सम्झौताका नाममा लिपपोतका भाषा स्वीकार्य नहुने नेपालको अडान रहेको छ ।

नेपालको भनाइ उदृत गर्दै अर्का एक सांसदले भने- केपी ओलीका स्वेच्छाचारी क्रियाकालपविरुद्ध लागेका कार्यकर्ताको सुरक्षा हुनुपर्छ । लिपिपोति भाषाले हुन्न, १२/१५ बुँदामा एक/एक गरेर निष्कर्ष निकाल्नुपर्ने हुन्छ, त्यसका लागि आजै हतार गर्नुपर्ने छैन ।
छलफलमा सहभागी केन्द्रीय सदस्य र सांसदहरुले सर्वोच्च अदालतको फैसलाअघि कुनै पनि सम्झौता नगर्न नेपाललाई दबाब दिएका छन् । उनीहरुले जे गर्ने हो अब अदालतको फैसलापछि हुने बताएका छन् ।

माधव नेपालसँगको छलफलमा सहभागी नेताहरुले वार्ता टोलीमा आफ्नो समूहबाट प्रतिनिधित्व गर्ने नेताहरुको भूमिकामाथि समेत संशय व्यक्त गरेका छन् । माधव नेपाल समूहबाट प्रतिनिधित्व गर्ने तर समूहमाथि नै घात गर्ने नेता किन चाहियो भन्ने प्रश्न उनीहरुले उठाएका थिए ।

‘माधव नेपाल स्वयंलाई घात गर्ने वार्ता टोलीको सदस्य किन चाहियो ? वार्ता टोलीका सदस्य सार्वभौम होइनन्, उनीहरुले माधव नेपालको समूहलाई प्रतिनिधित्व गरेका हुन्, जब हाम्रो टिम नै वार्ताको टोलीको विपक्षमा उभिन्छ भने त्यो किन चाहियो ?’ बैठकमा सहभागीहरुले नेपाल समक्ष प्रश्न गरेका छन् ।

वार्ता टोलीले गर्ने जस्तासुकै सम्झौता स्वीकार गर्न सांसद र केन्द्रीय सदस्यहरु तयार नरहेको सांसद तथा केन्द्रीय सदस्य मेटमणी चौधरीले बताए । सहअस्तित्व र समानताका आधारमा एकता हुनुपर्ने भन्दै उनीहरुले कार्यदलबाट त्यो सम्भव नरहेको समेत बताएका छन् ।

बैठकका सहभागीहरुले भीम रावल र सुरेन्द्र पाण्डेको भूमिकाप्रति अशन्तुष्ट प्रकट गर्दै उनीहरुले समूहको भावनाविपरित उल्टोपाल्टो सम्झौता गर्न खोजेको आरोप लगाएका थिए । केही नेता सम्झौता गरेर गए पनि देशभरका कार्यकर्ताले माधव नेपाललाई नै साथ दिने भन्दै खुट्टा नकमाउन आग्रह गरिएका बैठकका सहभागीले बताए ।


Published :२७ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media