कोरोना कहर कै बीच स्नातक तहको परीक्षा साउनमा हुने

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले दुई लाख ५० हजारभन्दा बढी विद्यार्थी सहभागी हुने स्नातक तहको वार्षिक परीक्षालाई स्वास्थ्य सावधानीपूर्वक अपनाउँदै भौतिक रूपमै सञ्चालन गर्नेभएको छ । परीक्षा भौतिक रूपमा नै सञ्चालन गर्न सरकारले स्वीकृति दिएपछि स्वास्थ्य सावधानी अपनाउँदै अगाडि बढ्ने योजना विश्वविद्यालयले बनाएको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले सरकारबाट स्नातक तहको परीक्षा सञ्चालन गर्न अनुमति लिइएको जानकारी दिए । विद्यार्थीलाई सामाजिक दूरी कायम गरेर परीक्षा लिइने र सबै खालको स्वास्थ्य मापदण्डको पालना गरिने उनले बताए। साउनदेखि सञ्चालन गरिने स्नातक तहको परीक्षामा दुई लाख ५० हजारको हाराहारीमा विद्यार्थी सहभागी हुने भएकाले सरकारसित अनुमति लिएको स्पष्ट पारे । कोरोना महामारी अझै पूर्ण रूपमा नियन्त्रणमा आई नसकेको र पछि समस्या हुन सक्ने ठानेर सरकारसित अनुमति लिइएको हो ।

विश्वविद्यालयले यस पटकको परीक्षा सञ्चालन गर्दा परीक्षा केन्द्रको संख्यामा व्यापक वृद्धि गरेको छ । सबैजसो जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने र विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तनको अवसरसमेत दिइएका कारण यस पटक ३५० वटा परीक्षा केन्द्र बनाउनुपर्ने अवस्था रहेको जनाइएको छ । यसअघि स्नातक तहको परीक्षामा जम्मा २१० वटा मात्रै परीक्षा केन्द्र बनाइएको थियो । विद्यार्थीलाई सुविधा पुग्नुका साथै सुरक्षितसमेत हुने अनुमान गरी केन्द्रको सङ्ख्यामा वृद्धि गरिएको हो ।
यसका साथै सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोपमा विश्वविद्यालयका शिक्षक तथा कर्मचारी पनि समेटिएपछि परीक्षा सञ्चालनमा थप सहज हुने अपेक्षा गरिएको छ ।
मङ्गलबारदेखि खोप पाउने समूहमा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीलाई पनि समावेश गरिएको छ । विश्वविद्यालयले परीक्षा तथा विश्वविद्यालयका कक्षा सञ्चालनका लागि शिक्षक तथा कर्मचारीलाई खोपको प्राथमिकतामा राख्न सरकारसित लबिङ गर्दै आएको थियो ।
विश्वविद्यालयको परीक्षा सञ्चालनमा शिक्षक तथा कर्मचारीको प्रत्यक्ष सहभागिता रहने गरेको छ । शिक्षक, कर्मचारीले खोप पाएपछि अब सुरक्षित रूपमा परीक्षा सञ्चालन गर्न मनोबल उच्च हुने परीक्षा नियन्त्रक जोशीले बताए । विश्वविद्यालयले साउन पहिलो सातादेखि स्नातक तहको परीक्षा सञ्चालन गर्दैछ ।

विश्वविद्यालयको वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीलाई अनलाइन माध्यमबाट परीक्षा फाराम भर्न समस्या परेको पाइएको छ । विद्यार्थीमा इन्टरनेटको सहज पहुँच नभएको,
प्रयोगको ज्ञान नभएको र कतिपय विद्यार्थी आफू अध्ययन गर्ने क्याम्पसबाट धेरै टाढासमेत भएका कारण विद्यार्थीलाई परीक्षामा आबद्ध गराउन समस्या परेको जनाइएको छ ।
भौतिक रूपमा परीक्षा फाराम भर्न समस्या भएपछि त्रिविले स्नातक तहको प्रथम वर्षका विद्यार्थीलाई जेठ ९ गतेदेखि अनलाइनबाट परीक्षा भर्न आह्वान गरेको थियो । कतिपय विद्यार्थीले भौतिक रूपमा नै क्याम्पसमा पुगेर परीक्षा फाराम भर्ने र त्यसलाई क्याम्पसले परीक्षा नियन्त्रण कार्यालयमा पठाइदिने समेत गरेको थियो ।


Published :३१ असार २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media