आफ्नै पार्टीको सरकार ढाल्नेबाट के सिक्ने ? – के पी वली

राष्ट्रपाटी न्युज

१७ श्रावण २०७८

काठमाडौं–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षमा पुर्‍याउने नेताबाट आमकार्यकर्ता र नागरिकले केही पनि सिक्न नसक्ने वताएका छन् ।

तुलसीलाल स्मृति प्रतिष्ठानले कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २४औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले पार्टीभित्रै कतिपय नेतामा पार्टीप्रतिको निष्ठाको भाव नभएको वताए । नेपाली जनताले विकास र सुशासनका लागि कम्युनिष्ट सरकार नै चाहिन्छ भन्ने महसुस गरेको उनले बताए । आफूले नेतृत्व गरेको सरकारका कारण आमजनताको सरकारप्रति आशा र भरोसा बढेको बताउदै उनले भने “केही व्यक्तिको हतारो र गैरजिम्मेवारीले गर्दा सरकार र पार्टीमा यो अवस्थामा आएको हो ।”

पूर्वप्रधानमन्त्री ओलीले तुलसीलाल अमात्य, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, मदन भण्डारी, जीवराज आश्रितलगायतका नेताले पार्टी र जनताका लागि निस्वार्थ रुपमा योगदान गरेको उल्लेख गरे । नेताहरुले देश र पार्टीका लागि व्यक्तिगत स्वार्थ र अहम त्यागेर लागेको बताउदै उनले भने , “पुष्पलालले काँचो चना खाएर पनि पार्टी र देश बनाउन लाग्नुभएको थियो ।”

एमालेले राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा अगुवाई गरिरहेको अध्यक्ष ओलीको भनाइ छ । परराष्ट्र तथा औद्योगिक नीति, व्यापार, कृषि, सिँचाइ सबैमा एमालेले लिएको नीति नै राष्ट्रिय नीति बन्ने गरेको उनले बताए । सत्यका पक्षमा लाग्ने व्यक्तिलाई बिगतदेखि नै विभिन्न पक्षले असहयोग गर्ने गरेको उनले बताए । उनले भने , “ऋषिमुनिका तपस्या भाड्नेदेखि बुद्धलाई गलत देख्नेहरू नभएका होइनन् । त्यो कुरा अझैसम्म रहेको छ ।”

प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यले विगतमा एकीकरण भएको कम्युनिष्ट पार्टी केके कारणले गर्दा फुट्यो भनेर समीक्षा गर्नुपर्ने बताए । एमाले स्थायी कमिटी सदस्य केशव बडालले तुलसीलालको पार्टी र देशप्रतिको निष्ठा भावबाट हामीले धेरै कुरा सिकेर अवलम्बन गर्न सकिनेमा जोड दिए ।


Published :१७ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media