भदौमा शिक्षकको लाइसेन्स परिक्षा अनि पदपूर्ति

राष्ट्रपाटी न्युज

२६ श्रावण २०७८

काठमाडौँ। शिक्षक सेवा आयोगले असोज पहिलो साताभित्र नयाँ शिक्षकको पदपूर्ति प्रक्रिया अगाडि बढाउने भएको छ । झन्डै १५ हजारको हाराहारीमा नयाँ जनशक्ति शिक्षण पेसामा भित्र्याउने गरी शिक्षक पदपूर्तिको प्रक्रिया अगाडि बढाइने भएको हो ।
शिक्षक सेवा आयोगका नवनियुक्त अध्यक्ष मधु रेग्मीले ढिलामा पनि असोज पहिलो सातासम्म शिक्षकको नयाँ पदपूर्ति गर्ने हिसाबले आफूहरू अगाडि बढेको जानकारी दिएका छन् ।

आयोगले पदपूर्ति प्रक्रिया अगाडि बढाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई देशभरका सार्वजनिक विद्यालयमा शिक्षकको रिक्त दरबन्दीको विवरण अद्यावधिक गरिदिन अनुरोध गरेको छ ।

केन्द्रले शिक्षक सेवा आयोगलाई गत चैत मसान्तसम्मको रिक्त शिक्षकको विवरण पठाएको भए पनि पछिल्लो विवरण समेत थप गर्न भनिएको आयोगले जनाएको छ। आयोगको आग्रहपछि केन्द्रले आगामी भदौ १० सम्म रिक्त विवरण पठाउन जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ। अध्यक्ष रेग्मीले चैत मसान्तसम्म १२ हजार शिक्षकको दरबन्दी रिक्त रहेको विवरण आयोगमा प्राप्त भएको जानकारी दिए । हरेक दिनजसो शिक्षकहरू सेवानिवृत्त हुने भएकाले बढीमा १५ हजारसम्म शिक्षक दरबन्दी रिक्त भएको हुनसक्ने आयोगको अनुमान छ ।
सार्वजनिक विद्यालयको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी अब यी दरबन्दीको पूर्ति हुनेछ । चार वर्षपछि शिक्षण सेवामा नयाँ शिक्षकको पदपूर्ति हुन लागेको हो ।

यसअघि २०७४ सालमा आयोगले नयाँ शिक्षकको पदपूर्ति गरेको थियो । यस पटक अस्थायी शिक्षकको व्यवस्थापन गर्नुपर्ने अवस्था नरहेकाले सबै पदपूर्ति खुला तरिकाले हुने जनाइएको छ ।

संविधानले नेपालको विद्यालय तहको शिक्षा प्रणालीलाई आधारभूत र माध्यमिक तहका रूपमा परिभाषित गरे पनि कानुनतः अझै विद्यालय शिक्षाको शिक्षकको पदपूर्ति भने पुरानै हिसाबले भइरहेको छ । पुरानै कानुनअनुसार प्रावि, निमावि, मावि तहकै हिसाबले शिक्षकको पदपूर्ति प्रक्रिया अघि बढाइने जानकारी अध्यक्ष रेग्मीले दिए ।

आयोगका अनुसार प्रावि तहको जिल्ला र निमावि तथा मावि तहका शिक्षकको प्रदेशगत हिसाबले विज्ञापन गरिनेछ । निमावि र मावि तहमा विषयगत हिसाबले विज्ञापन गरिन्छ भने प्रावि तहमा भने विषय छुट्याइँदैन ।

यसैबीच आयोगले भदौ महिनाभित्र शिक्षक लाइसेन्सको परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । नयाँ जनशक्तिलाई शिक्षण पेसामा भित्र्याउन सहज होस् भनेर शिक्षक लाइसेन्सको परीक्षा लिइने भएको हो ।

शिक्षक सेवा आयोगले सञ्चालन गर्ने स्थायी शिक्षकको पदपूर्तिका लागि उम्मेदवारले शिक्षक लाइसेन्सको परीक्षा पास गरेको हुनुपर्ने प्रावधान छ । नयाँ जनशक्तिलाई सेवा प्रवेश गर्न सहज होस् भनेर पहिला शिक्षक लाइसेन्सको परीक्षा गरेपछि मात्र शिक्षकको नयाँ पदपूर्ति गर्ने योजना बनाइएको अध्यक्ष रेग्मीले जानकारी दिए । प्रावि, निमावि र मावि तहमा लाइसेन्स वितरण गरिनेछ । परीक्षार्थीको भौतिक उपस्थितिमै शिक्षक लाइसेन्सको परीक्षा गरिनेछ । कोरोना भाइरस सङ्क्रमणको पछिल्लो अवस्था हेरेर परीक्षाबारे निर्णय गर्नुपर्ने अवस्था रहेको जनाइएको छ । प्रविधिको माध्यमबाट परीक्षा गर्ने अवस्था भने विकास भइसकेको छैन । यस विषयमा आयोगमा छलफल भइरहेको छ ।

यसैबीच आयोगले झन्डै तीन हजार शिक्षकको बढुवा प्रक्रिया अगाडि बढाउने भएको छ । आयोगमा हाल दुई हजार सात सय शिक्षक दरबन्दीमा बढुवा गर्नुपर्ने विवरण प्राप्त भएको छ । यसमा गत चैत मसान्तदेखिको तथ्याङ्क थप हुँदा यो सङ्ख्या तीन हजारको हाराहारीमा पुग्ने अनुमान आयोगको छ ।
नयाँ शिक्षकको पदपूर्तिका लागि सिफारिस, शिक्षकको बढुवा र शिक्षकको लाइसेन्स परीक्षा सञ्चालन गर्नु नै आयोगको मुख्य जिम्मेवारी रहेको अध्यक्ष रेग्मीले स्पष्ट पारे ।

-गोरखापत्र


Published :२६ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media