राति १२ बजेदेखि संसद्को अधिवेशन अन्त्य

राष्ट्रपाटी न्युज

३२ श्रावण २०७८

काठमाडौं- सङ्घीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर बैठकलाई जानकारी गराएका थिए ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीको अवस्थाका बारेमा जतिसक्दो छिटो सदनलाई जानकारी दिन सरकारलाई निर्देशन दिएका छन् ।

बैठकको सुरुमै समय लिएर नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले अफगानिस्तानमा भएको घटना र त्यहाँ रहेका नेपालीको अवस्था जान्न पाउनुपर्ने विषयमा उठाएको कुरामा तत्काल उद्धार गर्न सभामुख सापकोटाले उक्त निर्देशन दिएका हुन् । पूर्वसञ्चारमन्त्री बाँस्कोटाले अफगानिस्तान सार्कराष्ट्रकै सदस्य राष्ट्र भएको र नेपाल सार्कको अध्यक्ष भएको हुँदा उक्त घटनामा सरकारको दृष्टिकोण आउनुपर्ने बताए ।

बैठकमा अन्य सांसदहरुले पनि अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्था बुझेर तत्काल उद्दार गर्न सरकारको ध्यानाकर्षणगराएका थिए । त्यसैगरी सांसदहरुले दार्चुलामा जयसिंह धामी घटनाको छानबिन गरी छिटो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, लिम्पियाधुराको जग्गाको क्षेत्रफल एकीन गर्नुपर्ने,विभिन्न वर्ग समूदायलाई राज्यको निकायमा दिइने आरक्षणको व्यवस्थालाई थप स्पष्ट र व्यवस्थित गर्नुपर्ने लगाएतका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

आजको बैठकमा रेल्वे विधेयक, २०७६ र प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६ टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पति भएका उक्त दुई विधेयक सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित टेबुल गरेका हुन् ।

यही साउन ३ गते प्रारम्भ भएको अधिवेशन २९ दिन चल्यो । हालसम्म १० बैठकमा २० घण्टा १५ मिनेट संसदीय काम भयो । त्यसमा आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८, यौन हिंसा विरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी सुपरिवेक्षण गर्ने अध्यादेश, तेजाब तथा अन्य घातक पदार्थ नियमन गर्ने अध्यादेश, २०७८ र कोभिड– १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ लगायत प्रस्तुत भए ।

प्रतिनिधिसभाको चालू अविधेशनमा कुनै पनि नयाँ विधेयक सदनमा दर्ता भएनन् । यही साउन ३ गते दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिएका थिए ।


Published :३२ श्रावण २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media