वलीसँग भीम रावल फेरी असन्तुष्ट

राष्ट्रपाटी न्युज

२८ भाद्र २०७८

काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू निकट नेताहरूलाई १० बुँदे सहमति कार्यान्वयनमा जोड दिन आग्रह गरेका छन् । आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट भएको बताएपछि रावलले १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएको बताएका हुन् ।

आइतबार ओली निवास बालकोटबाट फर्किएपछि रावल एमाले दलको बैठकमा समेत गएका थिएनन् । प्रतिनिधिसभा बैठक पछि सिंहदरबारमा आफू निकटका नेता सँग १० बूँट सहमति कार्यान्वयनमा चुनौती थपिएको बताए ।

सिंहदरबारमा प्रतिनिधिसभा सदस्य झपट रावल र एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशीसँग रावलले १० बुँदे सहमति कार्यान्वयन आवश्यक रहेको र उक्त सहमति कार्यान्वयन नभए समस्या हुने बताएका हुन् ।

जोशी एमालेमा विवाद हुँदा रावलले गठन गरेको समानान्तर कमिटीको सुदूरपश्चिम अध्यक्ष थिए । सिंहदरबारभित्रै भएको छलफलमा रावलले आइतबार बिहान ओली निवासमा भएको छलफलबारे जानकारी गराएका थिए । उनले अध्यक्ष ओलीले सुदूरपश्चिममा भट्टलाई इन्चार्ज बनाउन चाहेको भन्दै १० बुँदे कार्यान्वयन नभए एमाले भित्रै रहेकाहरू पनि नरहने आसय व्यक्त गरेका थिए ।

‘लाखौं लाख कार्यकर्ताको रगत र पसिनाको बनाएको पार्टी हो । अन्तिम सम्म अझै प्रयत्न गर्नु पर्छ । जेठ २ मा लैजान र १०बुँदे कार्यान्वयन गर्न नेतृत्व इमान्दार भएर लाग्नु पर्छ,’ भीम रावलले भनेको कुरा उदृत गर्दै झपट रावलले भने, ‘यो हुँदैन भनेर बाहिरिनु भएका साथीहरूलाई पनि आउने वातावरण बन्छ नत्र यहिँभित्र रहेका साथीहरू पनि यहाँ नअट्ने वातावरण बन्छ भन्ने उहाँको बुझाइ छ ।’

छलफलमा दैलेखबाट निर्वाचित राजबहादुर बुढा पनि थिए ।

केहि व्यक्तिहरुको कारणले १० बूँदे र जेठ २ मा जान समस्या भइरहेको बताए। उनले जेठ २ भन्दाअघि सुदूरपश्चिम प्रदेशको संयोजक भीम रावल रहेको भन्दै अब पनि रावलले जिम्मेवारी पाउनु पर्ने बताए ।

२०७७ पुस ५ गतेअघि भीम रावल तत्कालीन नेकपाको सुदूरपश्चिम संयोजक थिए। २०७५ जेठ ३ मा एमाले र माओवादी एकता भएर नेकपा गठन हुनुभन्दा अघि पनि रावल एमाले उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज थिए । पुस ५ पछि नेकपामा फेरिएको समीकरणका कारण भट्ट इन्चार्ज बनेका थिए।

‘जेठ २ भन्दा अघि एमालेका इन्चार्ज भन्ने थिएन् । त्यो बेला संयोजक पद हुने व्यवस्था थियो त्यो पदमा भीम रावल हुनुहुन्थ्यो,’ उनले नेपाल प्रेसलाई भने, ‘जेठ २ भन्दापछि पनि उहाँ नै इन्चार्ज हो । त्यसैले अहिले पनि प्रदेश संयोजकमा १० बूँदेअनुसार उहाँ नै हुनुपर्छ ।’

गत असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयनका लागि सुदूरपश्चिम प्रदेशमा सहजीकरण गर्न भीम रावल, लेखराज भट्ट र कर्ण थापा रहेको कार्यदलसमेत बनेको छ। तर, झपट रावलले त्यहि कार्यदलबाट एकताभन्दा बढी बिभाजनको काम हुन थालेको आराेप लगाए ।
स्रोत:- नेपालप्रेस


Published :२८ भाद्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media