कर्मचारी सञ्चय कोषको ६० औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रपाटी न्युज

१ आश्विन २०७८

काठमाडौं । कर्मचारी सञ्चय कोषले यही २०७८ भाद्र ३१ गते आफ्नो स्थापनाको ६०औं वार्षिकोत्सव मनाएको छ ।भौतिक तथा भर्चुअल माध्यमबाट कोषको केन्द्रीय कार्यालय पुल्चोकमा कार्यक्रम आयोजना गरी मनाइएको उक्त कार्यक्रमको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए।कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्रि शर्माले वित्तीय स्रोतमा भएको बृद्धि, कारोवारको प्रकृतिमा भएको विविधता, प्रविधिप्रतिको बढ्दो निर्भरतासँगै वित्तीय प्रणालीमा जोखिम बढिरहेकोले कर्मचारी सञ्चय कोष समेत सो जोखिमबाट प्रभावित हुनेहुँदा यस तर्फ कोष सचेत रहनुपर्ने बताएका थिए। सोही कार्यक्रममा नेपाल सरकारका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोष सञ्चालक समितिका अध्यक्ष श्री कृष्णहरि पुष्कर, कोषका निमित्त प्रशासक श्री जितेन्द्र धितालले बिबिध धारणा राखेका थिए भने कोषका पूर्व प्रशासक श्री कृष्ण प्रसाद आचार्य एवम् कोषमा क्रियाशिल ३ वटा कर्मचारी युनियनका अध्यक्षहरुले शुभ–कामना ब्यक्त गरेका थिए। प्रबक्ता विजय कुमार श्रेष्ठ द्वारा जारि गरिएको विज्ञप्ति जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ।
 प्रेस विज्ञप्ती
कर्मचारी सञ्चय कोषले आज २०७८ भाद्र ३१ गते आफ्नो स्थापनाको ६०औं वार्षिकोत्सव भौतिक तथा भर्चुअल माध्यमबाट कोषको केन्द्रीय कार्यालय पुल्चोकमा कार्यक्रम आयोजना गरी मनाएको छ । कोषद्धारा आयोजित वार्षिकोत्सव कार्यक्रमको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै माननीय अर्थमन्त्री श्री जनार्दन शर्माले वित्तीय स्रोतमा भएको बृद्धि, कारोवारको प्रकृतिमा भएको विविधता, प्रविधिप्रतिको बढ्दो निर्भरतासँगै वित्तीय प्रणालीमा जोखिम बढिरहेकोले कर्मचारी सञ्चय कोष समेत सो जोखिमबाट प्रभावित हुनेहुँदा यस तर्फ कोष सचेत रहनुपर्ने कुरा बताउनुभयो । वित्तीय स्रोतको ब्यवस्थापन र सञ्चयकर्ताको सेवाको दृष्टिकोणबाट कोषका गतिविधि सञ्तोषजनक रुपमा अघि बढिरहेको र संस्थागत सुशासन तथा जोखिम ब्यवस्थापन क्षेत्रमा कोषले थप सुधार गर्नुपर्ने कुरा औंल्याउनुभयो । उक्त अवसरमा कोष गतिविधिको नियमनका लागि अलग्गै र प्रभावकारी नियमनकारी निकायको ब्यवस्था भईनसकेको वर्तमान समयमा कोष सञ्चालक समिति र ब्यवसथपनले स्व–नियमनकारी भूमिका समेत निर्वाह गर्दै योगदानमा आधारित निबृत्तभरण कोष समेतको समग्र ब्यवस्थापनमा विशिष्टिकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

यसैगरी सोही कार्यक्रममा बोल्दै नेपाल सरकारका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोष सञ्चालक समितिका अध्यक्ष श्री कृष्णहरि पुष्करले सञ्चय कोष योगदानका अतिरिक्त विगत २ बर्षदेखि सञ्चालनमा रहेको योगदानमा आधारित निबृत्तभरण कोषमा संकलित करिब ४ खर्ब ४४ अर्ब बराबरको स्रोतको कुशल ब्यवस्थापन गर्न सफल भई विश्वसनीय संस्थाको रुपमा सबैको विश्वास जितेको बताउनुभयो । त्यसैगरी सञ्चयकर्ताको सन्तुष्टि र समृद्धि नै कोषको पहिलो लक्ष्य रहेको साथै कोषको समग्र गतिविधि एवम् नीति तथा कार्यक्रम यसै लक्ष्यबाट निर्देशित हुनुपर्ने र कोषमा रहेको वित्तीय स्रोतको समुचित परिचालन गरी प्राप्त प्रतिफलको समन्यायिक वितरण गर्नुपर्ने कुरा बताउनुभयो । सो अवसरमा वहाँले कर्मचारी सञ्चय कोष ऐन र निबृत्तभरण कोष ऐनलाई एकिकृत गरी एउट्टै ऐनको आवश्यकता देखिएको कुरा बताउनुभयो ।

सोहि कार्यक्रममा बोल्दै कोषका निमित्त प्रशासक श्री जितेन्द्र धितालले कोष साठी बर्षमा प्रवेश गरेको उपलक्ष्यमा समस्त सञ्चयकर्ता तथा कोष परिवार प्रति बधाई तथा शुभ–कामना ब्यक्त गर्दै सञ्चयकर्ताको योगदान रकमको कुशल ब्यवस्थापन तथा परिचालनबाट प्राप्त प्रतिफलको न्यायोचित वितरण गर्ने एवम् सेवा प्रवाहमा गुणामत्मक सुधार गर्दै सञ्चयकर्ताको हित र सन्तुष्टिप्रति कोष परिवार सदैव क्रियाशिल रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो । सो अवसरमा वहाँले कोषको वर्तममान अवस्था, आर्थिक बर्ष २०७७÷७८ मा भएको प्रमुख उपलब्धीहरुको समिक्षा र कोषको भावी योजना र प्रतिबद्धता सम्बन्धी विवरण प्रस्तुत गर्नुभयो । सो अवसरमा कोषका पूर्व प्रशासक श्री कृष्ण प्रसाद आचार्य एवम् कोषमा क्रियाशिल ३ वटा कर्मचारी युनियनका अध्यक्षहरुले शुभ–कामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल सरकारका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोष सञ्चालक समितिका अध्यक्ष श्री कृष्णहरि पुष्करले कोभिड १९ संक्रमण जोखिमका कारण भौतिक रुपमा उपस्थित हुन नसकेका कोषमा २५ वर्ष सेवा अवधि पूरा गरेका २२ जना कर्मचारीलाई प्रदान गर्ने दिर्घसेवा पदक र प्रमाणपत्रहरु एवम् २०७७ सालको एस.ई.ई. परिक्षामा उतिर्ण हुने कोषमा कार्यरत कर्मचारीहरुका ८ जना छोरा÷छोरीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गर्न कोषका निमित्त प्रशासक श्री जितेन्द्र धिताललाई एकमुष्ठ रुपमा हस्तान्तरण गर्नुभयो ।

कर्मचारी सञ्चयकोष ऐन २०१९ अनुसार वि.सं.२०१९ भदौ ३१ गते स्थापना भएको कर्मचारी सञ्चय कोषमा हाल ५ लाख ९८ हजार सञ्चयकर्ताहरुको सञ्चय कोष ३९८ अर्व ६ करोड र योगदानमा आधारीत निबृत्तभरण कोष १ अर्ब ५८ करोड गरी जम्मा ४४४ अर्व भन्दा बढीकोे वित्तिय स्रोत रहेको छ । उक्त रकमबाट कोषले सञ्चयकर्ताको सेवाकालिन आवश्यकता पूर्ति गर्नको लागि विशेष सापटी, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी र सञ्चयकर्ता सरल चक्र कर्जा जस्ता सापटी सुविधाहरु प्रदान गरिरहेको छ भने मुनाफा रकमबाट सामाजिक सुरक्षण कोष खडा गरी प्रसुती स्याहार, क्रिया खर्च, दुर्घटना क्षतिपूर्ति र सञ्चयकर्ता स्वास्थ्योपचार योजना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यसै सन्दर्भमा कोषले सञ्चयकर्ताहरुको लागि आजैदेखि सञ्चयकर्ता घरजग्गा खरिद कर्जाको शुरुवात समेत गरेको छ ।

यसैगरी कोषले मुलुकको पूर्वाधार विकासको लागि विभिन्न जलविद्युत कम्पनीहरु माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत कम्पनीद्धारा प्रबर्धित विभिन्न जलविद्युत आयोजनाहरु लगायत अन्य आयोजनाहरुमा ऋण लगानी गरिरहेको छ भने नेपाल बायु सेवा निगमलाई विमान खरिद गर्न ऋण लगानी गरेको छ यस्तै कोषले अधिकांश शेयर स्वामित्व सञ्चयकर्ताहरुको रहने गरी बेतन कर्णाली जलविद्युत आयोजना निर्माण प्रकृयाको शुरुवात गरेको छ ।


Published :१ आश्विन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media