पराजुलीको “श्वेत पर्वत” सार्वजनिक

काठमाडौं । नेपाल प्रज्ञा पतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नियात्राकार विष्णु प्रसाद शर्मा पराजुलीको खोजमुलक तेस्रो नियात्रा कृति ‘श्वेत पर्वत’को लोकार्पण गरेका छन् ।
पुस्तक लोकार्पण गर्दै प्रमुख अतिथि गुरुङले पराजुलीले पुस्तकमा उठाएको मानव सभ्यताको प्रारम्भ हिमाली क्षेत्रमा भएको कुरामा दुईमत नभएको उल्लेख गरे । त्यसक्रममा गुरुङले योगी नरहरिनाथको ‘शिखरिणी’ जनकलाल शर्माको ‘कौतुकमय डोल्पो’ र हर्क गुरुङको ‘मैले देखेको नेपाल’ नियात्रा कृतिमा पनि सम्बन्धित क्षेत्रको जनजीवन र संस्कृति बारे जानकारी दिएको स्मरण गर्दै ‘श्वेत पर्वत’ले गण्डकी क्षेत्रको संस्कृति, धर्म, जनजीवन र भुगोलवारे जानकारी दिएको बताए । कालीगण्डकी क्षेत्र परापूर्वकालदेखि व्यापारिक र धार्मिक मार्ग रहेको कुरा धेरै ग्रन्थमा उल्लेख छ भन्दै उनले त्यहाँ दामोदर कुण्ड, मुक्तिक्षेत्र, रुरुक्षेत्र, हरिहर क्षेत्र, कागवेनी, म्याग्दीबेनी, मोदीवेनी, सेतीबेनी जस्ता तीर्थस्थल रहेका समेत जानकरी दिएका छन् ।
‘श्वेत पर्वत’मा उल्लेख गरिएको गण्डकी क्षेत्रको विविध आयामवारे चर्चा गर्दै डा. गुरुङले लेखकले प्राचीन मानव सभ्यता, त्यहाँको धर्म, संस्कृति, सम्पदा, दर्शन, जीवजन्तु, भुगोलबारे चर्चा गर्दै लोपोन्मुख अवस्थामा रहेका मठ, मन्दिर, विहार, गुम्बाको संरक्षणकालागि पनि सुझाव दिएको बारे उल्लेख गर्दै विज्ञले दिने सुझाव त्यति नै भएको र काम भने सरकारले गर्नु पर्ने धारणा राखेका थिए। लेखकले पुस्तकमा विदेशी लेखकले केही प्राचीन ग्रन्थ अवैध रूपमा युरोप पु¥याएकोमा दुःख मानेको प्रति लक्षित गर्दै प्राचीन केही कुरा उनीहरुले लगेतापनि विदेशी लेखकले नेपाललाई विश्वमा चिनाएको बताएका थिए । उनले भने ‘पराजुलीले हिमाली सभ्यताबारे औँल्याएका छन् । ओझेलमा परेका सांस्कृतिक विषयलाई उठाएका छन् । त्यो राम्रो पक्ष हो । देशले संस्कृतिमाथि उभिएर राजनीति गर्नु पर्नेमा ठीक उल्टो राजनीतिको पछाडि संस्कृति कुदेको छ । त्यो गलत हो ।’ पराजुलीको श्वेत पर्वत गण्डकी प्रदेशको लागि मार्गदर्शन बन्न सक्ने धारण राख्दै लेखकलाई महत्वपूर्ण कृति दिएकोमा बधाई समेत दिए ।

प्रमुख समीक्षक प्रा. राम कृष्ण रेग्मीले श्वेत पर्वत पुस्तकबाट विविध पक्षको ज्ञान हस्तान्तरण हुने बताए । रेग्मीले भने ‘पराजुलीको पुस्तकको दुई–तीन पृष्ठ मात्र पढदा पनि त्यो क्षेत्रमा कस्तो सभ्यता र संस्कृति, कुन जातिको बसोबास रहेछ र त्यहाँ के खेति हुन्छ? कस्तो रहनसहन र कस्तो प्रकृति रहेछ? भन्ने थाह पाईन्छ’ । ‘श्वेत पर्वतमा ज्ञानको अलवा कौतुहलता, प्रादेशिक अवस्था, प्राकृतिक स्रोत, जीर्णावस्थामा रहेका चोर्तेन एवम् गुम्बा र संरक्षणकालागि गर्नु पर्ने कार्य बारे विवरणात्मक जानकारी छ । यसमा सांस्कृतिक पक्ष र हिमाली सभ्यता मात्र होइन हाम्रो भाकलको प्रचलन, बरदान पाइने आशामा बाँचेको गाउँले जीवन, उचाइमा उकालो चढ्दा हुने दुःख, समस्या र अपनाउनु पर्ने होसियारीका बारे पनि मिहिनसाथ लेखिएको कुरा रेग्मीले जानकारी दिए । उनले सो पुस्तकलाई कोर्स बुकको रुपमा पनि राख्न सकिने धारणा राख्दै युवाहरूले पढ्नै पर्ने र पढने आदत बसाल्दै ज्ञान आर्जन गर्न सुझाव दिए । पुस्तकमा कतै ऊन र नुनको कुरा छ भने कतै प्रकृतिपूजा, बोन , बौद्ध, शाक्त, शैव एवम् हिन्दु धर्म, दर्शन, संस्कार र संस्कृतिका कुरा रहेका छन् त्यसैले विष्णुजीको यो पुस्तक यस क्षेत्रको सङ्ग्रहनीय ग्रन्थ हो, रेग्मीले भने ।

पुस्तकमा ऋग्वेदभन्दा पहिलेको विषय पनि भएको, खोजको लागि विद्धत वर्गलाई अनुरोध गरिएको कुरा रेग्मीले प्रस्ट पारे । प्रकृति पूजाका कुरा गर्दा लेखकले मौसम परिवर्तनको कुरा, डोजरले पुराना पदमार्ग भत्काए नागरिकको पदमार्ग नास गरिदिएर दुःख दिएको कुरा गरेर सरकारी निकायलाई पुरातात्विक सम्पदाको संरक्षण गर्न सचेत पार्न विर्सेका छैनन् । पराजुलीले चिन्ता मात्र व्यक्त गरेर चुप बसेका छैनन् उनी सुझाव दिन पनि पछि पर्दैनन् रेग्मीले थपे । जोमसोमबाट तिलिचो तालसम्म डोजरले उधिन्दा त्यसबाट हुने क्षति, त्यसले पार्ने प्रभावलाई ध्यानमा राखि त्यसो गर्नु भन्दा लेखकले केवलकारको विकल्प दिएको बारे रेग्मीले चर्चा गरे । पुस्तक अनुसन्धानात्मक कृति हो भन्ने कुरा लेखकले उल्लेख गरेको स्रोतबाट थाह हुन्छ । पुस्तक पठनीय छ र सङ्ग्रहनीय छ भन्दै यो पुस्तकलाई गण्डकी प्रदेशले स्रोतको रुपमा लिँदा राम्रो हुने भन्दै रेग्मीले लेखकलाई शुभकामना दिए ।

त्यसै गरी पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव जगत उपाध्यायले ‘पराजुलीले जागिर नै परित्याग गरी नेपालको विकट हिमाली क्षेत्रको साहसिक पदयात्रा गरी हिमालयको दक्षिण र हिमालयभन्दा उत्तरमा रहेका हिमाल, हिमाली गाउँ, हिमाली सभ्यता र उपत्यका, वनस्पति, जीवजन्तु, जनजीवन, धर्म, दर्शन र परम्पराबारे अनुसन्धानात्मक खोज गर्दै लेखेको कृति हो–श्वेत पर्वत’ भएको बताएका छन् । पदयात्रा गरेर मेहनतकासाथ नियात्रा कृति लेखेर लेखकले नेपाललाई चिनाएका छन्, उनले भने । उपाध्यायका अनुसार पुस्तकमा लेखकले देखेको कुरा मात्र उल्लेख नगरी सन्दर्भ सामग्री समेत अध्ययन गरी खोज तथा उत्खनन् गरी प्रस्तुत गरेका छन् ।

उनका अनुसार ‘पुस्तकमा हिमालय क्षेत्रको सिन्धुसभ्यताभन्दा पहिलेको प्रसङ्ग छ, वैदिककालको वर्णन छ, त्यसको ठाउँ– ठाँउमा उद्धरण छ, ३२८ पृष्ठ बाहेक ३२ पृष्ठका रङ्गिन आकर्षक तस्वीर छन् जसले प्राकृतिक, सांस्कृतिक एवम् धार्मिक महत्व बोकेका छन् । यस नियात्रामा नियात्रा लेखनको परम्परामा नविनतम प्रबृत्ति छ, यो नविन पक्ष हो । विषय चयन, नियात्रात्मक निवन्ध लेखन शैली र अनुसन्धानात्मक भएको कारण यो कृति पुरस्कृत लायक छ । पुस्तकमा अलग–अलग विषयमा उनिएका विषयहरू पाठ्यक्रममा राख्न लायक पनि छन् ।’ वैदिक सभ्यताभन्दा पहिलेको सभ्यतालाई मात्र लेखकले उठाएका छैनन् भन्दै ती विषयलाई उठाउँदा अनुसन्धानलाई आधार बनाएको हुनाले पुस्तक आधिकारिक हुन पुगेको छ । अनुसन्धानलाई आधार बनाउँदा बनाउँदै पनि साहित्यिक आलङ्कारिक ढङ्गमा पनि नयाँ स्वाद दिन लेखक पछि परेका छैनन् भन्दै उपाध्यायले लेखकको लेखाइ अझ परिस्कृत र प्राञ्जल हुँदै जाओस भन्ने शुभकामना दिए ।

लोकार्पण समारोहमा कथाकार श्रीरामसिंह वस्नेतले पराजुलीले कसैको सहयोग विना आफ्नै चाहना, सोख र खर्चमा विकट उच्च हिमाली क्षेत्रको यात्रा गरेको र यात्रामा गरेका अनुभवलाई स्रोत सामग्रीको समेत प्रयोग गरी अनुसन्धानमुलक कृति पाठक सामु ल्याएकोमा खुसि व्यक्त गरेका थिए । बस्नेतले पराजुलीले खुट्टाले पद यात्रा गर्दै हात पनि चलाएको बताए । त्यसैले उनको यो तेस्रो नियात्रा कृति ‘ श्वेत पर्वत’ पनि उनले खुट्टा र हात दुवै चलाएर सिर्जना गरिएको कृति हो । यस कृतिले नेपाली नियात्रा साहित्यमा ठूलो योगदान गरेको भन्दै सो कार्यक्रममा सबैलाई स्वागत गरे ।
सो समारोहमा लेखक पराजुलीले आफूले हिमाली संस्कृति वैदिक संस्कृतिभन्दा पुरानो भएको , त्यहाँ रहेका माने, गुम्बा, भित्ते चित्र, जीवन शैलीमा अति प्राचीन प्रकृतिपूजाको संस्कृति र त्यससँग सम्बन्धित परम्परा रहेको हुनाले त्यसबारे खोजको लागि आब्हान गरेको कुरा उल्लेख गरे । ऋग्वैदिककाल तथा सिन्धु सभ्यताको प्रारम्भिक चरणभन्दा पहिलेदेखि यस क्षेत्रमा घुमन्ते जातिको बसोबास थियो । यस क्षेत्रमा भएको जीवन शैली, संस्कृति, प्रकृतिपूजा, नारी सम्मान, वैदिक ग्रन्थमा हिमाल र मानव समाजवारे भएको विवरणको आधारमा यस क्षेत्रमा कम्तिमा पनि १० हजार वर्ष पहिले देखि मानव सभ्यताको विकास भएको थियो भन्ने कुरालाई सन्दर्भ सामग्री, त्यस क्षेत्रमा भएको जीवन चक्र आदिको आधारमा तर्क पेश गरिएको छ । उनले यो समग्र क्षेत्रनै भौगोलिक, प्राकृतिक, सास्कृतिक, दार्शनिक र धार्मिक क्षेत्रको विश्वविद्यालय हो भनेको प्रसङ्ग पनि राखे । पुस्तकमा तस्वीर, पदमार्ग नक्सा पनि भएको हुनाले पदयात्रा गर्न चाहनेलाई पनि यो उपयुक्त भएको उनले जानकारी दिदै सम्पूर्ण पाठक वर्गलाई पुस्तक पढेर सुझाव दिन आग्रह गरे ।

कार्यक्रमको सभापतित्व भुँडीपुराण प्रकाशनका केशव पराजुलीले गरेका थिए भने सञ्चालन साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीले गरेका थिए ।
पराजुलीका अन्य नियात्रा कृतिमा ‘तिब्बत यात्रा’ २०७२ र ‘डोल्पोः विश्वको जीवित सङ्ग्रहालय’ २०७४ मा प्रकाशित भइसकेका छन् ।


Published :६ माघ २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media