पाँचदलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चा अलग

राष्ट्रपाटी न्युज

१६ फाल्गुन २०७८

काठमाडौं । राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग हुने निर्णय गरेको छ । जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो ।
अधिकांश जनता एमसीसीको विपक्षमा सडकमा हुँदाहुँदै झालझेल गरेर एमसीसी पास गर्नु राष्ट्रलाई दीर्घकालिन र गम्भीर क्षति पुग्ने काम भएको भन्दै गठनबन्धन त्याग्ने निर्णय गरिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’ हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसद‍्द्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरूको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताकोविरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ ।’

राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोधमा यही फागुन १९ देखि २२ गतेसम्म देशव्यापी जिल्ला तथा स्थानीय स्तरमा विरोध सभा गर्ने जनाएको छ ।


Published :१६ फाल्गुन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media