बढ्यो विप्लवको सक्रियता, धेरै नेताहरु संग भेटघाट

राष्ट्रपाटी न्युज

१८ फाल्गुन २०७८

काठमाडौं। एमसीसीविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले राजनीतिक सक्रियता बढाएका छन् ।गत आइतबार प्रतिनिधि सभाले अमेरिको सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई व्याख्यात्मक घोषणासहित पारित गरेपछि विप्लवले सक्रियता बढाएका हुन् ।

जनस्तरमा व्यापक चासो रहेको र विरोध समेत भइरहेको एमसीसीलाई संसदले अनुमोदन गरेसँगै विप्लव लगायतले विरोधी धारको नेतृत्व गरिरहेका छन् ।सत्तारुढ दलहरुबीच लामो रस्साकस्सीका बीच गठबन्धन जोगाउने गरि व्याख्यात्मक घोषणाको साहारा लिइएको भए पनि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीमा असन्तुष्टि बढेको छ ।

माओ‌वादी केन्द्रमा नेता नारायणकाजी श्रेष्ठ पक्षले र एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनालले बिरोध गरिरहेका छन् । त्यस्तै एमसीसी पारित गर्ने समयमा बेल घेरेर बसेको नेकपा एमालेका नेता भीम रावल पनि एमसीसीको विपक्षमा उभिएका छन ।

आज विप्लवले नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमसीसी सम्झौताको संसदमा चर्को बिरोध गर्दै आएको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारयणमान विजुक्छेसँग भेटवार्ता र छलफल गरेका छन् ।

विप्लवले एमसीसी बिरोधी नेताहरुलाई आफूहरुको समूहले आयोजना गर्न लागेको एमसीसीविरुद्धको सभामा सहभागी गराउन पहल गरिरहेको जनाइएको छ ।नेताहरुसँगको भेटमा विप्लवले राजनीतिक सहकार्यको प्रस्ताव गरिरहेका छन् ।


Published :१८ फाल्गुन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media