सत्ता गठबन्धन : पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

राष्ट्रपाटी न्युज

२२ चैत्र २०७८

काठमाडौं। सत्ता गठबन्धनको मंगलबार विहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठक सम्पन्न भएको छ ।

चुनावी गठबन्धन सम्बन्धमा छलफल गर्न बसेको यस बैठकले काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले सत्ता गठबन्धनको बैठकले सो समिति गठन गरेको जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तीन दिने भारत भ्रमणको ब्रिफिङ पनि गरेको उनले जानकारी दिएका छन् ।

यसैगरी, देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारकोतर्फबाट राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग बृहत् अन्तरक्रिया गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा प्रधानमन्त्री देउवासहित, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीलगायत गठबन्धन दलका शीर्ष नेताहरु सहभागी थिए ।


Published :२२ चैत्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media