काठमाडौँ- नेकपा एमाले काठमाडौँले उम्मेदवारी सिफारिस गर्न समय सिमा निर्धारण गरेको छ। यही चैत्र १५ गते बसेको नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीको दोश्रो बैठकले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने समय तालिकाका वारेमा निर्णय गरेको थियो।
नेकपा एमाले काठमाडौँ जिल्ला कमिटिको उक्त बैठकले चैत्र २६ गते जिल्लाका १३८ वटै वडामा शनिवार १ बजे उम्मेदवारीका लागि अभिमुखीकरण भेला आयोजना गर्ने समेत निर्णय गरेको छ ।
त्यसैगरी उक्त बैठकले वडा तहमा उम्मेदवारहरुको सिफारिस चैत्र २८ गते सोमवार र नगरपालिका स्तरमा चैत्र २९ गते मंगलवार गर्ने निर्णय गरेको छ।
काठमाडौँ जिल्ला कमिटीले तालिका सार्वजनिक गर्दै सर्वसम्मतिमा उम्मेदवार सिफारिस गर्न अधिकतम प्रयास गर्न निर्देशन दिएको छ। त्यस्तो परिश्थिति नभएको अवस्थामा मापदण्ड र नीतिका आधारमा नाम सिफारिस गर्न समेत निर्देशन दिएको छ।