जसपाले नेपालगन्ज मागेपछि विवाद बल्झियो, गठबन्धनको बैठक बस्दै

काठमाडाैं । आसन्न निर्वाचनमा उपमहानगरपालिकामा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनकाे बैठक आज बिहान बस्दैछ ।

बैठक बिहान ११ बजे प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बस्न लागेकाे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

गठबन्धनले ६ महानगरपालिकामा सिट बाँडफाँट करिब-करिब टुंग्याए पनि उपमहानगरपालिकामा भने विवाद कायमै छ ।

मंगलबार राति बालुवाटारमा बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज फेरि बैठक बस्न लागेकाे हाे ।

११ मध्ये ९ उपमहानगरमा सहमति जुटे पनि नेपालगन्ज र जनकपुर उपमहानगरपालिकामा सहमति जुटेकाे छैन । यसअघि जनकपुरमा जनता समाजवादी पार्टी र नेपालगन्जमा नेपाली कांग्रेसलाई मेयरकाे सिट दिने विषयमा छलफल भएकाे थियाे ।

तर, जसपाले नेपालगन्जमा पनि दाबी गरेपछि कांग्रेसले जनकपुरमा समेत दाबी गरेको हाे ।

११ उपमहानगरमा कांग्रेसले ६ तथा माओवादीले दुई र एकीकृत समाजवादी र जसपाले एक-एक मेयर लिने गरी सहमतिमा प्रयास भए पनि जसपाले दुई उपमहानगर खाेजेकाे हाे ।

६ महानगरमध्ये कांग्रेसले तीन तथा माओवादी, एकीकृत समाजवादी र जसपाले एक-एक मेयर पाउने गरी सहमति जुटिसकेकाे बताइएकाे छ ।


Published :७ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media