अमरगढीको संयुक्त ग्यारेज मापदण्डविपरीत

डडेल्धुरा । ‘नगर क्षेत्रमा अव्यवस्थित रूपमा ग्यारेजहरु खोलिएका छन्। यसले दुर्घटना निम्त्याइरहेको छ। ट्राफिक जाम पनि हुने गरेको छ । त्यसैले छरिएर रहेका ग्यारेजहरूलाई एक ठाउँमा राख्ने र यसमार्फत नगरपालिकाको दीर्घकालीन रूपमा आम्दानी स्रोत जोड्ने ढंगले यो संयुक्त ग्यारेज निर्माण थालेका हौँ,’  अमरगढी नगरपालिका–१ ढुन्ढुनेमा संयुक्त ग्यारेज बनाउने क्रममा अमरगढी नगरप्रमुख विशेश्वरप्रसाद ओझाले भनेका थिए।

तर, चार वर्ष पुग्न लाग्दासमेत नगर प्रमुख ओझाले बनाउने भनेको संयुक्त ग्यारेज बन्न सकेको छैन । १० लाख लागतमा डोजर प्रयोग गरेर फिल्ड मात्र निर्माण गरिएको छ।  अहिले ग्यारेज निर्माण आर्थिक अभावले अलपत्र परेको छ।

अव्यवस्थित, कोलाहल, भिडभाडले यात्रुहरू दिक्दार हुन्छन् डडेल्धुरामा। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको ‘ट्रान्जिट प्वाइन्ट’ हो, डडेल्धुरा । जिल्ला सदरमुकामको साघुँरो सडक आफैँमा चुनौतीको रूपमा रहेको छ।

साघुँरो र खाल्टाखुल्टी परेको सडकले सवारी चालकलाई मात्र होइन्, यात्रु पनि निकै समस्यामा छन्।  दिनानुदिन बढिरहेका सवारी चापलाई व्यवस्थित गर्न पार्किङको भरपर्दो योजनाअघि सार्नुपर्ने चुनौती छ। तर, यो समस्या समाधान गर्न भने अमरगढी नगरपालिकाको ध्यान पुगेको छैन।

बसपार्क नहुँदा सडकमा पार्किङ गर्नुपर्ने समस्या यात्रुको लागि नौलो कुरा होइन्। तर, त्यसैमा थप चुनौती बनेको छ, अव्यवस्थित ग्यारेज। बागबजार, तफान्डाँडा, स्याउलेमा जथावाभी खोलिएका ग्यारेजले गर्दा सवारीसाधन तथा यात्रुलाई असर गरिरहेको छ। अव्यवस्थित ग्यारेजका कारण दुर्घटनाको जोखिम निम्त्याएको छ।

मापदण्डविपरीत संयुक्त ग्यारेज

ग्यारेज बनाउँदा सडकभन्दा ५० मिटर दायाँबायाँ छोडेर मात्र निर्माण गर्न पाइन्छ। तर, डडेल्धुरामा सरकारीको नियमको धज्जी उडाउँदै ग्यारेज सञ्चालनमा छन् । यातायात व्यवस्था कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रशान्त श्रेष्ठले अमरगढी नगरपालिका, ट्राफिक प्रहरीको समन्वयमा सडकछेउमै रहेका ग्यारेजको अनुगमन गरेको र उनीहरूलाई सचेत पारेको बताउँछन्। ‘अनुगमनका क्रममा मापदण्डमा रहेर ग्यारेज सञ्चालन गर्न भनेका छौं। नत्र कारबाही हुन्छ भनेर निर्देशन दिएका थियौं,’ उनले भने।

तर, यातायता कार्यालयले अनुगमन गरेको लामो समय भइसक्दासमेत सडकमै अव्यवस्थित रूपमा ग्यारेज सञ्चालनमा रहेका छन्। अमरगढीले बनाउने भनेको संयुक्त ग्यारेज पनि मापदण्ड मिचेर बनाउन लागिएको पाइएको छ। सडकभन्दा ५० मिटर टाढा मात्रै ग्यारेज निर्माण गर्नुपर्ने भए पनि ढुन्ढुनेमा संयुक्त ग्यारेज बनाइरहेको अमरगढीले ५० मिटर पनि नछोडेर सडक छेउमै बनाइरहेको छ ।


Published :७ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media