युवाले अपेक्षा गर्ने, मिहिनेत नगर्ने बानी भए हटाउनुपर्छ: अध्यक्ष ओली

ललितपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूमा रहेको देशभक्ति सुशासनको आकांक्षा, सामाजिक सदभाव, राष्ट्रिय एकता, समृद्ध नेपाल र सुखी नेपाली परिकल्पना पूरा गर्ने अठोटबाट अत्यन्त खुसी लागेको बताएका छन् ।

ललिपुरको गोदावरीमा आयोजित ‘युवासँग म’ कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले युवामा कुरा गर्ने काम नगर्ने, अपेक्षा गर्ने मिहिनेत नगर्ने बानी भए हटाउनुपर्ने बताए । उनले भने, ‘नेपाल अर्थात् हामी बसेको भूभागबाटै शैव सभ्यता सुरु भएको थियो । गीत, संगीत, कला, नृत्य यहीँबाट सुरु भएको थियो । नेपाल अहिले मात्रै विकास नभएको हो । नेपाल कहिल्यै विकास नभएको होइन । हामीले त्यो विकासलाई निरन्तरता दिनमात्रै नसकेको हो । विभिन्न दर्शन र योगको सुरुवात यही भूमिबाट यही भएको हो । औषधि उत्पादन, खगोलशास्त्रीय अध्ययन अनुसन्धान, ज्ञान विज्ञानको अध्ययन यहीँबाट सुरु भएको हो । यसकारण त यस भूमिलाई ज्ञान भूमि, ध्यानभूमि, आविष्कार भूमिका रुपमा हाम्रा पूर्खाले अगाडि बढाएका थिए । यो भूभाग र यहाँका मानिस आदिविद्वान् थिए । तिनै पूर्खाको जिन हामीसँग छ ।’ यसकारण हामी हाम्रो देशलाई सहजै विकसित गराउन सक्ने उनले बताए ।

सो कार्यक्रममा अध्यक्ष ओलीले युवायुवतीको प्रश्न र समस्या सुनिरहे । कार्यक्रमको सुरुमा उनले अब हरेक वर्ष ७ वैशाखमा यसरी नै युवाहरूको अनुभव र प्रश्न सुन्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा रहेका युवा व्यवसायी, खेलाडी, कलाकार, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।


Published :७ बैशाख २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media