निर्वाचन चिह्न अंकित सामग्री प्रयोग नगर्न आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागू भएको अवस्थामा राजनीतिक दलले निर्वाचन चिह्न अंकित ज्याकेट, टिसर्ट लगायतका प्रचार सामग्री प्रयोग गरिरहेको सूचना आएको भन्दै त्यस्तो कार्यलाई रोक्न आग्रह गरेको छ ।

आयोगको अनुरोधलाई बेवास्ता गरी यदी कोही कसैले आचारसंहिताको उल्लङ्घन गरेमा निर्वाचन आयोग ऐन, २०७४ को दफा २३ बमोजिम आचारसंहिताको उल्लङ्घन गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानूनी व्यवस्था रहेको आयोगले जनाएको छ ।

आयोगले साङ्केतिक सामग्री लगायतका प्रचार सामग्रीहरु उत्पादन तथा बिक्रीवितरण भइराखेको भन्ने आयोगलाई सूचना प्राप्त भएकोले त्यस्ता सामग्रीको उत्पादन तथा विक्रीवितरण गर्ने कार्य तत्काल बन्द गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्शलाई आफ्नो संरचना मातहतका उद्योग र फर्मलाई त्यस किसिमका कुनै पनि उत्पादन नगर्न नगराउनका लागि परिपत्र गरी सहयोग गर्न आग्रह गरेको छ ।


Published :७ बैशाख २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media