सार्कीवाडामा भीषण आगलागी, चार बालबालिकाको मृत्यु

राष्ट्रपाटी न्युज

१० बैशाख २०७९

जुम्ला । जिल्लाको सार्कीवाडामा भएको भीषण आगलागीमा परी चार बालबालिकाको मृत्यु भएको छ । तिला गाउँपालिका ३ सार्कीवाडामा रहेको मानसिहं सार्कीको तीन तलाको घरमा  आगलागी हुँदा चारजना बालबालिकाको जलेर मृत्यु भएको हो ।

आगलागीमा मानसिहं सार्कीकी  १४ वर्षकी  भान्जी तुलसा सार्की, ११ वर्षीया छोरी अनु सार्की, ३ वर्षीया छोरी दर्शना सार्की र एक वर्षको छोरा दिपेश सार्कीको जलेर मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरीक्षक  नरेन्द्र चन्दले बताए ।

आगलागीमा  मानसिंह सार्की र उनकी श्रीमती फागुनी सार्की, बहिनी रुन्चकली सार्की घाइते भएका छन् । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना ,र त्यहाँका स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जुम्ला सदरमुकामबाट करिब १८ किलोमिटरको दूरीमा टाढा पर्ने सो गाउँमा आगलागीको कारण खुल्न सकेको छैन । स्थानीय जयलाल कठायतका अनुसार  राति ११ः२० बजेतिर आगलागी भएको थियो ।   जिल्ला  प्रहरीलाई भने राति ११ः४५ बजे आगलागी भएको जानकारी आएको थियो । आगलागीबाट  घर, लत्ताकपडा, अन्नपातलगायत  सबै सामान जलेर नष्ट भएको छ ।

 


Published :१० बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media