दुई दिनको उम्मेद्वारी दर्तामा माधवको आशंका ! 

राष्ट्रपाटी न्युज

१० बैशाख २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई दिनसम्म उम्मेदवारी नोमिनेसनको समयसीमा राख्नुमा षडयन्त्रकोे आशंका गरेका छन् ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार ११ र १२ वैशाखमा उम्मेदवारी नोमिनेसनको समयसीमा तोकेकोप्रति आंशका व्यक्त गर्दै उनले प्रत्येक जिल्लामा कम्तीमा एक पालिका नेकपा एसले पाउनुपर्ने दाबी गरेका छन् ।

‘प्रत्येक जिल्लामा कम्तीमा एक पालिका हामी (नेकपा एस)ले पाउनुपर्छ,’ नेपालले काठमाडौंमा आयोजित कार्यक्रममा भने, ‘झन एमालेले यसअघि जित हासिल गरेका पालिकामा स्वभाविक दाबी हाम्रो रहन्छ तर त्यस्तो भइरहेको छैन, यो गम्भीर कुरा हो ।’ उनले ११ वैशाखदेखि हुने उम्मेदवारी दर्ताप्रति पनि आशंका गरेका छन् ।

‘भोलि उम्मेदवार नोमिनेसन फाइल गर्ने दिन हो र पर्सी पनि हो,’ नेपालको आशंका छ, ‘दुई दिन किन राखेको थाहा छ ? मलाई लाग्छ, त्यहाँ पनि कुनै षड्यन्त्र छ, ११ वैशाखमा नोमिनेसन फाइल गर्लान्, मान्छेको अनुहार हेरिकन १२ वैशाखमा फेरि विद्रोही उम्मेदवार खडा गरिदिउँला भनेर सोचेका होलान् ?’ तर, विद्रोही उम्मेदवार खडा गर्ने दाउ भने आफूहरूले असफल पार्ने नेपालको दावी छ ।

निर्वाचन आयोगको कार्यतालिकाप्रति असन्तुष्ट नेता नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका सबै योजना असफल हुने दाबी पनि गरे ।  ‘आफूले मात्र तिगडम जानेको सोचेका होलान्, अरुले पनि जान्दछन् । तर, ती तिकगडमा सबै फेल हुनेछन्’ नेपालले अगाडि भने, ‘सबैतिर फेल भएको मान्छे अझै तिगडम गरिरहेका छन्, यो फेरि असफल हुँदैछ ।’


Published :१० बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media