स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता

राष्ट्रपाटी न्युज

११ बैशाख २०७९

काठमाडौं । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदैछ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२  वैशाखमा दुई दिन उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ भने १२ वैशाखमा  मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ ।

यी दुई दिन बिहान १० बजेदेखि साँझ ५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गर्न सकिनेछ ।

१३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ वैशाखमा मनोनयन पत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने उनले बताए ।

१५ वैशाखमा मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने १६  १६ वैशाखमा  उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

आयोगले मनोनयनपत्र दर्ता गर्न जाँदा निर्वाचन आचार संहिताले तोके बमोजिमको आचरण पालना गरिदिन अपिल गरेको छ ।

‘यदि आचार संहिता विपरीत कार्य भए गरेको पाइएमा आयोगले कानून बमोजिम कारवाही हुने र यसबाट उम्मेदवारको उम्मेदवारी प्रक्रियामा नै गम्भीर असर पर्न सक्ने हुँदा समयमा नै सचेत रहन उम्मेदवार हुन चाहने सबै मतदातामा जानकारी गराइएको छ,’ आयोगले प्रेस नोटमा भनेको छ ।

७५३ वटै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा छन् ।  मतदान केन्द्रमा प्रयोग हुने सामग्र पठाउने कार्य निरन्तर भइरहेको आयोगले जनाएको छ ।


Published :११ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media