चुनावी तालमेलप्रति कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा ५ बुँदे असन्तुष्टि पेश

राष्ट्रपाटी न्युज

११ बैशाख २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले केन्द्रीय कार्यसम्पादन समितिमा पाँचबुँदे फरक मत राखेका छन् । उनले सभापति शेरबहादुर देउवालाई लेखेको पत्रमा स्थानीय तह निर्वाचनमा चुनावी तालमेलप्रति असन्तुष्टि जनाएका छन् ।

उनले स्थानीय तहलाई निर्वाचन गठबन्धन र तालमेलबारे ‘स्थानीय अवस्था र आवश्यकता’लाई हेरी निर्णय गर्न प्रत्यायोजित गरेको अधिकार र स्थानीय एकाईको निर्णयविरुद्ध केन्द्रीय हस्तक्षेप भएको आरोप लगाएका छन् ।

त्यस्तै महानगरपालिका र उपमहानगरपालिकाको पाँच पार्टी गठबन्धनबीच भएको तालमेल र भागबण्डाको मापदण्ड कांग्रेसको कार्यसम्पादन समितिमा प्रस्तुत नभएको समेत उनको आरोप छ ।

महानगरपालिका र उपमहानगरपालिकामा उम्मेद्वारीको टिकट वितरणमा पार्टीको वैधानिक प्रक्रिया अवलम्बन नगरिएको, पदाधिकारी वा पूर्वपदाधिकारी लगायत पार्टी विधानमा कुनै स्थान नरहेका, संसदीय समिति गठन नै नभएको र कार्यसम्पादन समिति वा केन्द्रीय कार्यसमितिमा छलफल नभई अन्तिम दिन प्रस्तुत प्रस्तावको प्रक्रियामा लगिएको उनको आरोप छ ।

कांग्रेसको विधानको धारा ३० र ३१ मा जिल्ला संसदीय समिति, प्रतिनिधिसभा निर्वाचनक्षेत्रको संसदीय समितिमा सम्बन्धित जिल्ला र क्षेत्रका केन्द्रीय कार्यसमितिका सदस्य पदेन रहने व्यवस्था छ ।

त्यस्तै सम्बन्धित जिल्लाभित्रका केन्द्रीय कार्यसमितिका सदस्यहरू, प्रदेश संसदीय समितिका बैठकमा सम्बन्धित जिल्लाका विषयमा निर्णय गर्दा सो जिल्लाको केन्द्रीय सदस्यलाई आमन्त्रण गर्नुपर्ने वैधानिक व्यवस्था छ तर धेरै ठाउँमा यो प्रक्रिया अवलम्बन नगरिएको उनको भन्दै उनले फरक मत राखेका छन् ।

निर्वाचनमा उम्मेदवारी दिने दिन नै प्रस्ताव प्रस्तुत हुने परम्परा औपचारिकता मात्र भएकोले उक्त विषय र प्रक्रियामा आफ्नो फरक मत रहेको उनले बताएका छन् ।


Published :११ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media