उम्मेद्वारको मनोनयन दर्ता उत्साहपूर्ण : निर्वाचन आयोग

राष्ट्रपाटी न्युज

१२ बैशाख २०७९

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख ३० गते सम्पन्न हुने  स्थानीय तह सदस्य निर्वाचनका लागि उत्साहपूर्वक ढंगले मनोनयन दर्ता सम्पन्न भएको जानकारी जनाएको छ ।
सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ११ गतेका तुलनामा १२ गते उत्साहपूर्वक ढंगले मनोनयन दर्ता भएको जानकारी दिए । हालसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार अर्थात करिब ८० प्रतिशत मतपत्रको छपाई सकिएको उनले जानकारी दिएका छन् ।

वैशाख १३ गतेदेखि मतपत्र ढुवानी शुरु गर्ने आयोगका प्रवक्ता पौडेलले बताएका छन् । निर्वाचन कार्यतालिका अनुसार वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ । यी सबै कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुने उनले बताए ।


Published :१२ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media