कांग्रेसको घोषणापत्र बकवास र तथानाम गालीको दस्तावेजः एमाले अध्यक्ष ओली

राष्ट्रपाटी न्युज

१३ बैशाख २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रलाई ‘बकवास र गालीगलौज’ को दस्तावेज भएको बताएका छन् ।

राजनीतिक विश्लेषण केही पनि नभएको र तथानाम गाली नै गाली भएकाले घोषणापत्रलाई राजनीतिक दस्तावेज भन्न नसकिने तर्क गरे ।

२३ औं मनमोहन अधिकारी स्मृति दिवसलाई मंगलबार बिहान सम्बोधन गर्दै ओलीले नामै किटेर आफूलाई गाली गरेको र उत्ताउलो विकास गरेको आरोप लगाएको बताए ।

‘नेपाली कांग्रेसले चुनावी घोषणापत्र भनेको त्यो राजनीतिक दस्तावेज होइन । जम्माजम्मी धारेहात लगाएको छ, एमालेलाई । ५ वर्ष त्यसै खेर गयो भनेको छ । रेल ल्याउनु उत्ताउलो विकास हो’, उनले भने, ‘यस्तै यस्तै बकवास र गालीगलौच घोषणापत्रमा दर्जानौँ ठाउँमा नाम किटेर तथानाम गाली गरेको छ । राजनीतिक विश्लेषण छैन । शब्द थुपारी के हुन्छ ?’

उनले खेस्रो लेखेर नीति नहुने पनि बताएका छन् ।  सम्बोधनका क्रममा उनले कम्युनिस्ट आन्दोलनप्रति चिन्ता पनि व्यक्त गरे ।

दोस्रो महाधिवेशनमा पुष्पलालविरुद्ध घेराबन्दी भएको, मनमोहन अधिकारीलाई षड्यन्त्रपूर्वक पार्टीबाट हटाएको र आफूविरुद्ध पनि घेराबन्दी गएको बताए । तात्कालिक क्षति पुगे पनि एमालेलाई घाटा नभएको उनको भनाइ छ ।


Published :१३ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media