छिन्नभिन्न कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएको एमाले अध्यक्ष ओलीको दाबी

राष्ट्रपाटी न्युज

१३ बैशाख २०७९

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिन्नभिन्न कम्नुनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएको दाबी गरेका छन् । मनमोहन अधिकारीको २३आँै स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आज यहाँ आयोजन गरेको कार्यक्रममा उनले मनमोहन अधिकारीले छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताए ।

सो कार्यक्रममा उनले मनमोहन अधिकारीले अनेक दुःखकष्ट सहेर भए पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताए ।

“दोस्रो महाधिवेशनपछि कम्युनिष्ट आन्दोलन छिन्नभिन्न भयो । २०२२ सालपछि त पार्टी टुक्राटुक्रा भयो”, उनले भने, “छिन्नभिन्न र टुक्राटुक्रा भएको कम्युनिष्ट अन्दोलनलाई एकताबद्ध बनाउने काम मनमोहन अधिकारीले गर्नुभयो ।” अध्यक्ष ओलीले मनमोहनले जोडेको कम्युनिष्ट आन्दोलनलाई भत्काउन खोजिए पनि त्यसलाई पुनः एकताबद्ध बनाएकाले ठूलो विजयको तयारीमा आफूहरु रहेको बताए । उनले भने, “कम्युनिष्ट आन्दोलनको वैचारिक र व्याहारिक पक्षमा सबैभन्दा मजबुद शक्ति नेकपा (एमाले) रहेको छ ।”

अध्यक्ष ओलीले मनमोहनमा हतारोसँग काम नगरी सुविस्तारसँग काम गर्ने बानी रहेको बताए । “उहाँको राजनीतिक यात्रा रिले रेस जस्तो थिएन । उहाँ राजनीतिको म्याराथुन धावक हो”,  अध्यक्ष ओलीले भने, “म्याराथुन धावक भएको हुनाले उहाँ ७१ वर्ष उमेरमा सांसद र प्रधानमन्त्री हुनुभयो ।” उनले प्रजातन्त्र र लोकतन्त्र बचाउनका लागि स्वच्छ प्रतिस्पर्धा आवश्यक रहेको उल्लेख गर्दै एमाले पार्टी उत्साहका साथ निर्वाचनमा होमिएकाले आवेश र उत्तेजनामा नआउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष ओलीले मनमोहन अधिकारीजस्तै धैर्यता र संयम अपनाउन नेता तथा कार्यकर्तालाई आग्रह गरे । “मनमोहन अधिकारीले धैर्यता नराखेको भए बहुदलीय व्यवस्था ल्याएर प्रधानमन्त्री कसरी हुनुुहुन्थ्यो ? संयम र धैर्यता एमालेको चरित्र हो । त्यो मूलमन्त्र लिएर एमालेलाई अगाडि बढाउनुपर्दछ”, उनले भने, “ हामी सबैले आचारण, व्यवहार र चिन्तनमा सुधार ल्याउन जरुरी छ ।” उनले वडामा टिकट पाइएन भने पार्टी छाड्छु नभनी पार्टीले गरेको निर्णय मान्नुपर्ने बताए । हाम्रो पार्टीमा नातावाद र कृपावाद नरहेको स्पष्ट पार्दै उनले सबै नेता तथा कार्यकर्तालाई यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन र एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

प्रतिष्ठानका अध्यक्ष तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश बनाउने अभियानको एजेन्डा बोकर एमाले अगाडि बढेको बताए ।


Published :१३ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media