वडाध्यक्षसहित सिद्धार्थनगरका तीन कांग्रेस कार्यकर्ताले पार्टी त्यागे

राष्ट्रपाटी न्युज

१४ बैशाख २०७९

बुटवल । पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै वडाध्यक्षसहित सिद्धार्थनगरका तीनजना कांग्रेस कार्यकर्ताले पार्टी त्यागेका छन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर नगरपालिका-७ मा वडाअध्यक्ष बनेका भीमसेन कर्माचार्यसहित तीन कार्यकर्ताले पार्टी त्यागेका हुन् । पार्टी परित्याग गर्नेमा कांग्रेस वडा नम्बर ७ का सभापति भविलाल पौडेल र वडा सचिव अमृत कर्माचार्य समेत छन् ।

कांग्रेस सिद्धार्थनगर सभापति कोशिषबहादुर खड्कालाई राजीनामा बुझाउँदै अब पार्टीको साधारण सदस्यसमेत नरहेको उनीहरुले बताएका छन् । पार्टीमा लामो योगदान गरे पनि नेतृत्वले निर्वाचनका बेला मूल्यांकन नगरेको, पार्टी सिद्धान्तभन्दा बाहिर गएर चलेको, व्यक्तिवादी प्रवृत्ति हावी भएकोले पार्टी परित्याग गर्ने निर्णय गरिएको वडा सचिव कर्माचार्यले बताए ।

यसअघि सिद्धार्थनगर नगरपालिकामा मेयरको टिकट नपाएपछि कांग्रेस नेता मातृका यादवले पनि पार्टी छाडेका थिए । बुटवल उपमहानगरपालिका-३ मा पनि टिकट वितरणमा असन्तुष्टि जनाउँदै १ सय ५ जना कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका थिए ।


Published :१४ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media