बागमतीका मुख्यमन्त्री थापामगरलाई विश्वासको मत प्राप्त

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

मंगलबार प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ मत परेको हो। सरकार टिकाउन आवश्यक ५३ मतभन्दा उनले चार मत बढी प्राप्त गरेका छन् ।

प्रदेशसभाका कुल ११० सदस्यमध्ये मतदानमा सत्तारुढ दलका सांसदहरू मात्र सहभागी भएका थिए। विपक्षी दल नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका थिए।

सरकारको साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीका केही सांसद भने बैठकमा अनुपस्थित रहे। मतदानमा राप्रपाका ७, नेकपाका २६ र नेकपा एमालेका २५ सांसदले मुख्यमन्त्री थापाको पक्षमा मतदान गरेका हुन्।

एमालेबाट उपसभामुखसहित २५ सांसद मतदानमा सहभागी भएका थिए। उपसभामुखले समेत मत विभाजनमा सहभागिता जनाएका थिए । विपक्षी दलहरूले बैठक बहिष्कार गरेपछि मुख्यमन्त्री थापाको प्रस्तावको विपक्षमा वा तटस्थमा कुनै मत परेन।


Published :भदौ ९, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media