गठबन्धन बैठक : बागी उम्मेदवारी फिर्ता गराउन सातबुँदे निर्देशन

राष्ट्रपाटी न्युज

१४ बैशाख २०७९

काठमाडौं । पाँचदलीय गठबन्धनको बैठकले बागी उम्मेद्वारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बुधबार बसेको गठबन्धन बैठकले ६ महानगर र ११ उपमहानगरमा गबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलका तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो ।

६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धनको प्रदेश र जिल्ला संयन्त्रको बैठक आजै राखेर वडाका विभिन्न पदहरूमा गठबन्धनभित्रका दलहरुका बिचमा सिट बाँडफाँडको सम्झदारी गर्ने निर्णयसमेत गरेको छ ।

गठबन्धनभित्रका दलका सदस्यले स्वतन्त्र हैसियतमा दर्ता गराएका उम्मेदवारी फिर्ता गराउन सम्बन्धित दलले आवश्यक कार्य गर्नसमेत बैठकले निर्देशन दिएको छ ।

गठबन्धनका दलहरूका बीचमा सिट बाँडफाँडको समझदारी हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडाहरूमा आजै स्थानीय र प्रदेश संयन्त्रले समझदारीका लागि आवश्यक कार्य गर्ने निर्णयसमेत बैठकले गरेको छ । त्यसका लागि स्थानीय, जिल्ला र प्रदेश संयन्त्रले केन्द्रीय संयन्त्रसँग आवश्यक परामर्श र सहयोग लिनेछ ।

गठबन्धनभित्रका दलहरूले कुनै पनि तहमा गठबन्धनबाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र  राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको उपस्थिति रहेको थियो ।


Published :१४ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media