विविध क्रियाकलापसहित राष्ट्र बैंकको ६७औँ वार्षिकोत्सव सम्पन्न

राष्ट्रपाटी न्युज

१७ बैशाख २०७९

भैरहवा । नेपाल राष्ट्र बैंक सिद्धार्थनगरकी निर्देशक रञजना पौडेल म्याराथन दौडका प्रतिस्पर्धाका लागि दौडिन् । नियमित गृहणीको कामका साथै कार्यालयको कामले भ्याई नभ्याई उनले सधैं कामभन्दा पनि स्वास्थ्य र एक आपसमा बन्धुत्वको भावना विकास गर्न दौडमा सहभागी भइन । यस्तै, नेपाल बैंक लुम्बिनी प्रदेश प्रमुख लेखनाथ भुसाल पनि उक्त दौडमा सहभागी भए ।

नेपाल बैंकर संघ लुम्बिनीका संयोजकसमेत रहेका उनी सधैं कोट पाइन्ट र टाइमा देखिन्थे । तर, राष्ट्र बैकको वार्षिकोत्सवमा बैंकरहरुबाट धावक बनेर प्रस्तुत भए । सधैं आर्थिक गतिविधिले हिसाब मिलाउन तनावमा देखिने बैंकरहरुको अनुहार भने खेलमा सहभागी हुँदा बेग्लै रौनक थियो । पसिना र थकाइले लोतपोत भएका प्रदेशभरिबाट आएका धावक र फुटबलर सबैको उद्देश्य जित्ने भए पनि केहीले मात्रै जित सुनिश्चित गरे ।

यी दुई पात्र त उदाहरणमात्रै हुन् । नेपाल राष्ट्र बैंकको ६७औँ वार्षिकोत्सवको अवसर पारेर विविध कार्यक्रम गरेको छ, अन्तरबैंक सम्बन्धलाई प्रगाढ बनाउने, आपसी भाइचारा स्थापित गर्दै सम्बन्ध विकास र अन्तरनिहित प्रतिभाहरु प्रस्फुटन होस् भन्ने हेतुले नियमित कामलाई थाती राख्दै राष्ट्र बैंकले अतिरिक्त क्रियाकलापसहितको कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।

वार्षिकोत्सवकै अवसर पारेर सिद्धार्थनगर कार्यालयले बैंकका कर्मचारीहरु, कर्मचारीका परिवारका सदस्यहरु तथा लुम्बिनी प्रदेशमा रहेको विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई सहभागि गराई खेलकुद, बौद्धिक तथा अन्य मनोरन्जनात्मक प्रतियोगिताहरु सञ्चालन गरी विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्रबाट सम्मान गरेको छ ।

बैंकले नेपाल राष्ट्र बैंक र लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुबाट छनौट भएका ६ वटा टिमबीच गराएको फुटबलमा विकास बैंक टिमले २–० गोल गरी विजयी भएको थियो । यस्तै, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको सहभागितामा भएको अन्तरबैंक म्याराथनमा पुरुषतर्फ नेपाल राष्ट्र बैंकका राजन थापामगर प्रथम, होमबहादुर गर्तौला द्वितीय र गरिमा विकास बैंकका संजय गुरुङ तृतीय भए । महिलातर्फ नेपाल राष्ट्र बैंककी रञ्जना पण्डित पौडेल प्रथम, माछापुच्छ्रे बैंकका पवित्रा बस्नेत द्वितीय र मेगा बैंकका हिरा पाण्डे तृतीय भइन् ।

कर्मचारीहरुबीच भएको ब्याटमिन्टन डबल्स प्रतियोगितामा शिशिर शर्मा र सन्दिप रसाइलीे टोली प्रथम,  केशव श्रेष्ठ र राजन थापा मगर द्वितीय भए ।  टेबलटेनिस सिंगल प्रतियोगितामा शिशिर शर्मा प्रथम र राजन पोख्रेल द्वितीय भए ।

कर्मचारीहरुको छोराछोरीहरुबीच बालचित्रकला प्रतियोगिताको नर्सरीदेखि कक्षा एकसम्मको प्रतिस्पर्धामा सहायक निर्देशक निर्मला दाहालकी छोरी काब्या दाहाल प्रथम, सहायक निर्देशक देवराज ज्ञवालीकी छोरी देवान्सी ज्ञवाली द्वितीय र प्रधान सहायक कमल प्रसाद आचार्यका छोरा प्रनिश आचार्य तृतीय भए ।

त्यसैगरी कक्षा २ देखि कक्षा ५ सम्मको बालचित्रकला प्रतियोगितामा प्रधान सहायक सुवासचन्द्र चौधरीका छोरीहरु शिखा चौधरी र सृष्टि चौधरीले क्रमशः प्रथम र द्वितीय  तथा उप निर्देशक गुलाव धवलका छोरा सनम धवलले तृतीय स्थान प्राप्त गरे ।

त्यसैगरी कर्मचारीहरुका बीच अन्तरफाँट हाजिरीजवाफ प्रतियोगितामा बैंकिङ फाँट समूहका प्रधान सहायक कमलप्रसाद आचार्य, प्रधान सहायक केशव श्रेष्ठ र सहायक दीपक भुसालको टोली प्रथम भयो भने मुद्रा व्यवस्थापन फाँट समूह “ख” टोलीका प्रधान सहायक भविस्वोर पोख्रेल, सहायक सुनिलकुमार अर्याल र सहायक कविता केसीको टोली द्वितीय भए । हन्डीफोर प्रतियोगितामा ज्योती अधिकारी र कविता केसी विजेता बनिन् ।

वार्षिकोत्सवको अवसर पारेर कर्मचारीहरुले नगरमा प्रभातफेरी गरेका थिए । सोही दिन एक समारोहका प्रतियोगीहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा बोल्दै निर्देशक रञ्जना पण्डित पौडेलले नेपाल राष्ट्र बैंकको स्थापनाकालदेखि आरोहअवरोहका बारेमा चर्चा गर्दै डिजिटाइजेसनको युगसम्म आउँदाका चुनौतीहरु सामना गर्दै नेपाल राष्ट्र बैंक समग्र वित्तीय स्थायित्वका लागि अगाडि बढिरहेको बताइन् ।

नेपाल राष्ट्र बैंक पूर्वकर्मचारी संघ सिद्धार्थनगर शाखा समिति अध्यक्ष शिवहरि अर्यालले बैंकले पूर्व कर्मचारीहरुको योगदानको चर्चा गर्दै पूर्व कर्मचारीहरुका समस्या लिएर अगाडि बढ्न बैंकमा क्रियाशील कर्मचारी युनियनहरुलाई आग्रह गरे ।


Published :१७ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media