निर्वाचन तालमेलले गठबन्धनमा चुलियो असन्तुष्टि

राष्ट्रपाटी न्युज

१८ बैशाख २०७९

काठमाडौं । कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा स्थानीय तह निर्वाचनमा भएको तालमेललाई लिएर उम्मेदवारी टुंगो लागेपछि असन्तुष्टि चुलिएको छ ।

असन्तुष्टि जनाउनेमा जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

तीनै दलले तालमेलमा न्यूनीकरण गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले बढी स्थानीय तह लिएको तीन दलका नेताहरूको आरोप छ ।

जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपालाई तालमेलमा पूरै न्यूनीकरण गरेको भन्दै त्यस्तो प्रवृत्ति आपत्तिजनक भएको बताएका छन् ।

उनले यसबारे बेलैमा ध्यान पुर्‍याउन गठबन्धनका अन्य नेताहरूलाई सचेत पनि गरे ।

सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले शनिबार राति लेखेका छन्, ‘प्रतिगमनविरोधी आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेको, पाँच दलीय गठबन्धन र संयुक्त सरकार निर्माण निम्ति पार्टीको फुटको समेत जोखिम उठाएको, एमसीसी लगायतका राष्ट्रिय मुद्दाहरूमा निरन्तर स्पष्ट अडान राख्ने जसपालाई चुनावी तालमेलमा पूरै न्यूनीकरण गर्ने प्रवृत्ति आपत्तिजनक छ । बेलैमा ध्यान पुगोस् ।’

मधेस प्रदेश, लुम्बिनी प्रदेशसहित बाग्मती प्रदेश र प्रदेश १ लगायत केही प्रदेशको तराई क्षेत्रमा मात्र जसपाले निर्वाचनमा तालमेल गर्दा बढी स्थानीय तह पाएका छन् ।
पहाडी र हिमाली जिल्लामा शून्य जस्तै छ ।

एकीकृत समजावादीका अध्यक्ष माधवकुमार नेपालले नै तालमेलबारे घरिघरी असन्तुष्टि जनाउँदै आएका छन् ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले त बिहीबार नै विज्ञप्ति जारी गरेर एउटा पनि महत्वपूर्ण नगरपालिका नपाएको भन्दै असन्तुष्टि जनाएका थिए ।


Published :१८ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media