मजदुर आन्दोलनको विरासत एमालेसँग रहेको अध्यक्ष ओलीको दाबी

राष्ट्रपाटी न्युज

१८ बैशाख २०७९

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मजदुर आन्दोलनको विरासत आफ्नो पार्टीसँग रहेको दाबी गरेका हुन् । १३२औं श्रमिक दिवसको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले मजदुर आन्दोलनको विरासत एमालेसँँग रहेको दाबी गरेका हुन् ।

‘नेपालमा २००३ सालमा पहिलो संगठित मजदुर आन्दोलन सुरु भयो । राणाशाहीलाई श्रमजीवी जनतासँग सम्झौता गर्न बाध्य पार्ने त्यस आन्दोलनको गौरवशाली विरासत हाम्रो पार्टी नेकपा (एमाले) सँग छ,’ आफ्नो शुभकामना सन्देशमा ओलीले भने, ‘हाम्रो पार्टीको वैचारिक मार्गदर्शनमा क्रियाशील नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) त्यही गौरवशाली आन्दोलनको वाहक नेपालको पहिलो मजदुर आन्दोलनको निरन्तरता हो । एसियाका प्रभावशाली ट्रेड युनियनहरुमध्येमा गणना हुने जिफन्ट नेपालमा राष्ट्रिय मान्यता प्राप्त सबैभन्दा प्रतिनिधिमूलक सशक्त पहिलो ट्रेड युनियन महासंघ हो ।’

एमाले नेतृत्वको सरकारले औद्योगिक प्रतिष्ठान र श्रमिकहरुका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गरेको ओलीले बताए ।

नेपालको संविधानले मौलिक हक र कर्तव्यमा श्रमिकका अधिकार सुनिश्चित गरेको जानकारी दिँदै उनले नयाँ श्रम ऐनमार्फत् श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताहरुका लागि लचकतायुक्त श्रम बजारको सुनिश्चितता गरी औद्योगिक क्षेत्रमा अनावश्यक हड्ताल र संघर्ष गर्नु नपर्ने अवस्था सिर्जना गरेको बताए ।


Published :१८ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media