महिला र पुरुषबीच ज्यालामा हुने विभेद हटाउँछौः सुनिता डंगोल

राष्ट्रपाटी न्युज

१८ बैशाख २०७९

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिकाकी उपमेयर उम्मेदवार सुनिता डंगोलले आफूले जितेको खण्डमा श्रमिक महिलाहरूलाई कार्यस्थलमा सुरक्षित तरिकाले काम गर्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् । नेकपा एमालेबाट उम्मेदवार बनेकी उनले निर्वाचित भएमा महिला र पुरुषबीच ज्यालामा हुने विभेद हटाउने समेत बताइन् ।

श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै डंगोलले आफु निर्वाचित भए महिनावारी भएका बेला महिलाहरूलाई कार्यालयमा बिदा दिलाउनका लागि पहल गर्ने पनि वाचा गरिन् । उनले भनिन्, ‘महिनावारीको पीडा महिलाले बाहेक पुरुषले राम्रोसँग बुझ्दैनन् । महिनावारीमा बिदा दिनका लागि हामी नीति–कार्यक्रम अघि सार्नेछौं । साथै कार्यस्थलमा महिलाहरु सुरक्षित महसुस गर्नुपर्छ । त्यसका लागि वातावरण बनाउनेछौं ।’

उनले युवाको आवाज बुझेर एमालेले आफूलाई उपमेयरको उम्मेदवार बनाएको बताइन् ।  डंगोलले कार्यक्रममा सांकेतिक भाषामा समेत कुरा राखेकी थिइन् ।


Published :१८ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media