७६ जिल्लाका लागि मतपत्र छपाइ सम्पन्न, भक्तपुरको आजबाट

राष्ट्रपाटी न्युज

१९ बैशाख २०७९

काठमाडौं । ३० वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि ७६ वटा जिल्लाका लागि मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आजबाट अन्तिम अर्थात् भक्तपुर जिल्लाको मतपत्र छपाइ काम सुरु हुनेछ ।

जनक शिक्षा सामग्री संस्थान, सानोठिमीमा नमूनादेखि ३० वैशाखमा निर्वाचन प्रयोजनका लागि मतपत्रका छपाइ कार्य भएको थियो । निर्वाचन आयोगले उम्मेदवारी दर्ता, खारेजीलगायत कार्यतालिका सम्पन्न गरेलगत्तै सम्पूर्ण जिल्लाका मतपत्र छपाइको काम सम्पन्न गरेर ढुवानीलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

छापिएका मतपत्रमध्ये १८ वैशाखभित्र नै ४९ जिल्लाहरुमा ढुवानी गर्ने काम सम्पन्न गरिसकेको आयोगले आज दोलखा, सिन्धुली र रामछापका लागि मतपत्रहरु ढुवानी गर्दै छ ।  ६ महानगरपालिका र भक्तपुर जिल्लाबाहेकका अन्य जिल्लाका लागि १ करोड ४५ लाख ८० हजार मतपत्र छापिएको आयोगका प्रवक्ता शालिकराम पराजुलीले जानकारी दिएका छन् ।

स्थानीय तह निर्वाचन आउन ११ दिनमात्रै बाँकी छ । संविधानसभाबाट नयाँ संविधान जारी भएपछि निर्वाचन आयोगले ३० वैशाखमा दोस्रो पटक स्थानीय तहको निर्वाचन गर्दैछ । निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।


Published :१९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media