सुनिता डंगोलविरुद्ध अख्तियारमा उजुरी

राष्ट्रपाटी न्युज

२० बैशाख २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेद्‌वार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । महानगरको उपमेयरमा नेकपा एमालेका तर्फबाट उम्मेद्‌वारी दिएकी डंगोलविरुद्ध अख्तियारमा उजुरी परेको हो ।

काठमाडौं महानगरपालिकामा विज्ञको रूपमा काम गर्दा शैक्षिक योग्यता ढाँटेर चार वर्ष काम गरेको भन्दै अख्तियारमा उजुरी परेको हो । शैक्षिक प्रमाणपत्र ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकारको नियुक्ति लिई पाँच वर्ष जागिर खाएको भन्दै अख्तियारमा उजुरी परेको हो ।

१६ वैशाखमा परेको उजुरीमा सुनितामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को कसुरमा सजाय गराई उनले प्राप्त गरेको रकम तथा जरिवानासमेत असुल उपर गराउन माग गरिएको छ ।

काठमाडौं महानगरपालिका जस्तो सार्वजनिक निकायमा कुनै पनि सल्लाहकार नियुक्ति हुन सम्बन्धित विषयमा न्यूनतम स्नातकोत्तर तह उत्तिर्ण गरी विशेष अनुभव भएको व्यक्ति हुनुपर्ने उजुरीकर्ताको दाबी छ । तर, समाजशास्त्र विषयमा स्नातक तह उत्तिर्ण गरेकी सुनिताले विज्ञको रूपमा नियुक्ति पाएको आरोप उजुरीकर्ताको छ ।

काठमाडौं महानगरपालिकामा रहेको सहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुनुपर्ने निकायमा समाजशास्त्र विषयमा स्नातक गरेकी सुनिताले आफूले प्राप्त नगरेको स्नातकोत्तर योग्यता प्राप्त गरेको छु भनी आफ्नो शैक्षिक योग्यता ढाँटी विगत पाँच वर्षदेखि सहरी विकास परियोजनाको सल्लाहकारमा नियुक्ति लिएको उजुरीकर्ताले आफ्नो उजुरीमा उल्लेख गरेका छन् ।

त्यसबापत उनले मासिक ८० हजार तलबभत्ता प्राप्त गर्ने गरेको समेत आरोप लगाइएको छ । त्यसरी शैक्षिक योग्यता ढाँटेर कानुनले तोकेभन्दा बढी तलब भत्ता लिइए भ्रष्टाचार गरेको भन्दै उनीमाथि कारबाही गर्न माग गरिएको हो । उजुरी परेको विषयमा सुनिताले भने राजनीतिक प्रतिशोध साँध्न यस्तो आरोप लगाइएको बताएकी छिन् ।

आफूले आफ्नो शैक्षिक योग्यताको आधारमा नै छैटाैँ तहको कर्मचारी भएर सेवासुविधा लिएको सुनिताको भनाइ छ । ‘राजनीतिक करिअर अगाडि बढाइराख्दा थुप्रै खालका आक्षेपहरू लाग्ने गरेको छ । यो चुनावको बेला गरिने प्रोपोगाण्डा मात्र हो,’ सुनिताले भनिन् ।

आफूले लगभग चार वर्ष सहायक विज्ञको रूपमा काम गरेको उनको भनाइ छ । तलबभत्ता ८० हजार नभई लगभग ४५ हजारको हाराहारीमा लिएको बताइन् । ‘तलब मासिक ८० हजार लिएको थियो भनिएको छ । छैटाैँ तहको कर्मचारीले लिने सेवासुविधा मैले लिएकी थिएँ । मेरो त्यही ४० देखि ४५ हजारसम्म थियो,’ सुनिताले भनिन् ।

नगरसभाबाट भएको निर्णयअनुसार नै आफू सहायक विज्ञको रूपमा काम गरेको भन्दै उनले भनिन्, ‘काठमाडौं महानगरपालिकाले तपाईंको विज्ञता हामीलाई चाहियो भनेपछि मैले काम गरेकी हुँ ।’

उजुरी परेको सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले आफ्नो जानकारीमा नआएको बताए । ‘उजुरी परेकोबारे धेरै पत्रकार साथीहरूले फोन गर्नुभएको छ । तर, मेरो जानकारीमा छैन्,’ भण्डारीले भने ।


Published :२० बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media