निर्वाचनको मुखमा भारत गइरहेका नेपालीले भने- नेतालाई विश्वास गर्न सकिएन

राष्ट्रपाटी न्युज

२१ बैशाख २०७९

धनगढी । स्थानीय तह निर्वाचन आउन अब नाै दिन बाँकी छ । तर, मंगलबार बेलुका गौरिफण्टा नाकामा भारत जाने नेपाली लामबद्ध थिए । देश चुनावमय भइरहेका बेला भारत गइरहेका उनीहरूलाई भारत जाने रहर भने हैन, घरमा ऋणको भार थपिनु र स्वदेशमा रोजगारीको सुनिश्चितता नहुँदा चुनावको मुखमा पनि भारत जानुपर्ने उनीहरूको बाध्यता हो ।

‘गाउँघरमा चुनाव लागेको छ,’ अछामको तुर्माखाँद गाउँपालिका–२ का विशाल रावलले भने, ‘तर हामीलाई ऋणले च्यापेको छ । घरमा बसेर परिवार पाल्न नसकिने देखिएपछि बाध्य भएर भारत जानुपरेको हो ।’

नेता र उनीहरूकाे पछि लागेर फाइदा लिनेलाई मात्र चुनाव लागेकाे उनी भन्छन् । ‘घर-घरमा नेता आएर चुनावमा सहयोग गर्नुपर्छ भन्दै थिए,’  रावलले भने, ‘हाम्रो परिवार कसले पाल्छ भन्दा कसैले भरोसा दिन सकेनन्, जनताको गाँसबासको सुनिश्चितता गर्न नसक्ने उम्मेदवारलाई भोट दिनुको औचित्य नै देखिएन । यो चुनाव नेता र आसेपासेका लागि मात्रै आएको हो ।’

सोही ठाउँका हिमाल रावल नयाँ वर्ष मनाउन भारतको दिल्लीबाट घर फर्केका थिए । चुनावको मुखैमा उनी फेरि रोजगारीका लागि भारत नै फर्केका छन् । भारतबाट कमाएर ल्याएको पैसा घरमा परेको ऋण तिर्नमै ठिक भएको भन्दै उनले छोराछोरीलाई स्कुल पढाउन समस्या हुने देखिएपछि पुनः भारत हिँडेकाे बताए । ‘आफूले पढ्न नसकेपछि छोराछोरीलाई पढाउने रहर छ,’ उनले भने, ‘नयाँ भर्नाको समय आउँदा आफूसँग पैसा नभएपछि कामको खोजीमा भारत गइरहेको छु ।’

चुनावका बेला मात्रै नेताहरू आफ्ना हुने गरेको भन्दै उनले भने, ‘चुनावपछि कसैले हामीलाई चिन्दैनन् । चुनावमा गाउँ बस्नुभन्दा दुई-चार पैसा कमाउन सकिन्छ भनेर भारत जाँदै छु ।’ नयाँ वर्ष मनाउन चैत अन्तिम साता नेपाल आएका उनी एक महिना पनि घरमा बसेर पुनः भारततर्फ फर्कन लागेका हुन् ।

आफू भारत हुँदा घर खर्च चलाउन परिवारले गाउँमा निकालेको ऋण तिर्नमै सकियाे ल्याएको पैसा,’ उनले भने, ‘बचेको पैसा नयाँ वर्ष मनाउनमै सकियो, लामो समय घरमा बस्दा फेरि ऋण पर्ने भएपछि भारत फर्केको हुँ ।’

यसअघि निर्वाचनको समयमा नेताहरुले थुप्रै आश्वासन दिए पनि जनताकाे जीवनमा परिवर्तन नआएकाे हिमालले बताए । ‘२०७४ को निर्वाचनमा स्थानीय स्तरमै रोजगारीको व्यवस्था गर्ने एजेण्डा सबै उम्मेदवारको प्राथमिकतामा थियो,’ उनले भने,  ‘तर पाँच वर्षसम्म गाउँमा कुनै रोजगारीका अवसर सृजना भएन । अहिले पनि उम्मेदवार त्यही नारा लिएर गाउँ आइरहेका छन्, अब पत्याउन सकिएन ।’

भारत जान लागेका बझाङको छबिसपाथिभेरा गाउँपालिका-३ का नवराज जोशीले अघिल्लो स्थानीय तहको निर्वाचनमा उत्साहका साथ उम्मेदवारको पछि लागेको बताए । ‘गाउँ-गाउँमा विकासको लहर ल्याउँछौं, भारत जानुपर्ने बाध्यताको अन्त्य गर्छौं, नि:शुल्क शिक्षा प्रदान गर्छौं, डाक्टरसहितको स्वास्थ्य चौकी बनाउँछौं भन्दै अघिल्लो चुनावमा नेताहरूले नारा लगाएका थिए,’ जोशीले भने, ‘ती नारा चुनावपछि हराए । त्यसैले यसपटकको चुनावप्रति कुनै उत्साह जागेन । गाउँमा हल्लिएर बस्नुभन्दा भारततर्फ जान ठिक लाग्यो ।’


Published :२१ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media