काठमाडौं । सत्तारुढ पाँच दलले आज चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्ने भएका छन् । आमसभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
सभालाई सम्बोधन गर्न शीर्ष नेताहरु अघिल्लो दिन नै चितवन पुगिसकेका छन् । नेकपा माओवादी केन्द्र चितवनका जिल्ला संयोजक रामचन्द्र अधिकारीले भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरुले सम्बोधन गर्ने बताएका छन् । यसका साथै सो सभालाई जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरुले पनि सम्बोधन गर्ने भएका छन् ।
भरतपुर महानगरमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी रेणु दाहाल मेयरमा उठेकी छिन् । उपप्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् । यसैगरी नेकपा एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ ।
भरतपुर महानगरपालिकाको निर्वाचनलाई सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेले प्रतिष्ठाको विषय बनाएका छन् । त्यसैले अहिले सबैको ध्यान भरतपुर महानगरपालिकातिर तानिएको छ ।