परमादेशी सरकारलाई आज हामी बिदाइ गर्ने बाटोतिर छौंः केपी ओली

राष्ट्रपाटी न्युज

२२ बैशाख २०७९

कैलाली । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको कुनै उद्देश्य र गन्तव्य नभएको बताएका छन् । बिहीबार कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

एमाले अध्यक्ष ओलीले गठबन्धनवालाहरुको आफ्ना आफन्त र नातागोताको व्यवस्थापन गर्ने बाहेक अर्को कुनै उद्देश्य नभएको बताएका छन् । उनले भने, ‘कुनै गन्तव्य नभएको गठबन्धन खाली सरकारमा पुग्ने र आफ्ना मान्छेलाई उद्धार गर्ने, व्यवस्थापन गर्ने, नातागोता आफन्तको व्यवस्थापन बाँडीचुँडी खान बनेको हो।’

२३ सिट ल्याएको कांग्रेसका सभापति अरु विभिन्न लौरा टेकेर सरकार चढ्दै गरेको र हिँड्न खोजेको भन्दै ओलीले यो सरकार संसदबाट समेत नबनेको बताए । ‘यो संसदबाट होइन अन्तैबाट बनेको परमादेशी सरकारलाई आज हामीले बिदाई गर्ने बाटोतिर छौं। बिदाई गर्छौं भन्ने सन्देश यो चुनावले दिनुपर्छ,’ ओलीको भनाइ थियो ।

गठबन्धनवालाहरुको काम भनेको विकास रोक्नु र भएका विकास निर्माणको विरोध गर्नु भएको ओलीले बताउनुभयो । ‘कांग्रेसको घोषणापत्रमा धरहरा, रानीपोखरी, दरबार हाइस्कुल, ऐतिहासिक सम्पदा धरोहरहरु बनाएकोमा विरोध गरिएको छ । भूकम्पपछि ७ सात भवनहरु पुनर्निर्माण गरेकोमा विरोध गरिएको छ,’ उनले भने ।

एमाले विकास गर्ने, बाटो बनाउने, भौतिक पूर्वाधार निर्माण गर्ने पार्टी भएको उनको भनाइ थियो। ‘विभिन्न कार्यक्रम ल्यायौं। विकास देखिनुपर्छ घोषणापत्रमा,’ उनले भने ।


Published :२२ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media