प्रचण्ड र आरजुलाई ओलीको प्रश्न- बजेट कसैको घरको सम्पत्ति हो ?

राष्ट्रपाटी न्युज

२५ बैशाख २०७९

चितवन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताएका छन् । चितवनमा आइतबार आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले बजेट कसैको घरको सम्पत्ति नभएको बताएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले आफ्नो उम्मेदवार नजित्ने क्षेत्रमा बजेट नदिने बताएका थिए ।

उक्त कुराप्रति कटाक्ष गर्दै ओलीले सरकारी बजेट कसैको व्यक्तिको घरको सम्पत्ति नभएको बताएका हुन् । ‘बजेट दिन्न भन्ने कुरा तपाईंहरूले सुन्नु भएकै छ । के बजेट तिनको घरको सम्पत्ति हो ? तिनको गोजीको पैसा हो ? उनीहरूले दिन्न भनेर हुन्छ ?,’ ओलीले प्रश्न गरे ।

अबको चुनावमा गठबन्धनलाई पराजित गराएर नेकपा एमालेलाई विजयी गराउन सबैमा अनुरोध गरे । अबको सरकार नेकपा एमालेको भएको भन्दै एमालेको सरकार बनेपछि सबै ठाउँमा विकास हुने बताए ।


Published :२५ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media