इयू आबद्ध देशका गैरआवासीय राजदूतले प्रधानमन्त्रीसँग सामूहिक भेट गर्दै

राष्ट्रपाटी न्युज

जेष्ठ १२, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका लागि युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान साढे ११ बजे सामूहिक भेटघाट र संवादको कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतकाअनुसार उक्त सामूहिक भेटका अवसरमा प्रधानमन्त्री शाहले नेपालको वर्तमान प्राथमिकताका विषयहरूमाथि प्रकाश पार्नेछन् । बैठकमा नेपाल र युरोपेली संघमा आबद्ध राष्ट्रहरूबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने तथा पारस्परिक हित र सहकार्यका विविध आयामहरूमा छलफल केन्द्रित हुने बताइएको छ ।
‘भ्रमणमा युरोपेली संघका सदस्य राष्ट्रहरूका २२ जना राजदूत तथा उप–मिशन प्रमुखहरू सहभागी छन् । यो भ्रमण नयाँ प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाट गर्ने तथा युरोपेली संघ र नेपालबीचको बलियो सम्बन्धलाई पुनः पुष्टि गर्ने अवसरका रूपमा लिइएको छ,’ ईयूले आफ्नो स्टेटमेन्टमा भनेको छ ।
प्रधानमन्त्री बालेनले विदेशी कूटनीतिज्ञहरूसँगको भेटमा प्रोटोकललाई ध्यान  दिने गरेका छन् । यसअघि विदेशी कुटनितिज्ञ र राजदूतहरुले प्रधानमन्त्रीसँग छुट्टा छुट्टै भेट गर्ने गरेकोमा शाहले उक्त परम्परा तोड्दै सामूहिक भेट गरेका छन् भने प्रोटोकलमा पनि ध्यान दिने गरेका छन् ।
यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका आवासीय राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए । आज हुने भेटमा इयुको प्रतिनिधिमण्डलमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका राजदूत तथा उप–राजदूतहरू सहभागी हुनेछन् ।
शाह प्रधानमन्त्री भएपछि नेपाल आएका दुई अमेरिकी कूटनीतिज्ञले प्रधानमन्त्रीसँग भेट्न चाहेपनि प्रधानमन्त्रीले भेट्न इन्कार गरेका थिए । वैशाख ७ देखि ९ सम्म दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस. पल कपुर र त्यसपछि नेपाल आएका यस्तै दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले प्रधानमन्त्रीसँग भेट गर्न चाहेका थिए ।
भारतीय विदेश सचिव विक्रम मिश्री पनि प्रधानमन्त्री शाहसँग भेट्ने गरि नेपाल आउने अनौपचारिक तयारी  थियो । तर, प्रधानमन्त्री शाहले विदेश सचिवसँग प्रोटोकलका कारण भेट्न नचाहेपछि उनको भ्रमण अनिश्चित बनेको छ ।


Published :जेष्ठ १२, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media