सडक कालोपत्रे र किसानलाई परिचयपत्रको व्यवस्था गर्छुः गम्भीरबहादुर राना (अन्तर्वार्ता)

राष्ट्रपाटी न्युज

२६ बैशाख २०७९

गम्भीरबहादुर राना आसन्न स्थानीय निर्वाचनका लागि ललितपुर गोदावरी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार हुन् । २०५४ सालदेखि जिल्लाको स्थानीय निकायमा रहेर निरन्तर काम गरिरहेका रानासँग नगरको स्थानीय निर्वाचनको सन्दर्भमा चुनावी एजेण्डा र विकास निर्माणको सन्दर्भमा उनीसँग गरेको कुराकानीको सम्पादित अंशः

गोदावरी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर प्रचारप्रसारमा लाग्नु भएको छ । तपाईंलाई गोदावरीवासीले भोट किन दिनुपर्ने हो ?

सबैले विकास निर्माण, विकास निर्माण भनेर चुनावको बेलामा नारा ल्याएका छन् । मैले विकास निर्माणसँगै गरिबीको रेखामुनि रहेका किसान, दलित, महिलाहरूको उत्थानका कार्यक्रमहरू अघि बढाउनेछु । जनताको प्रत्यक्ष सरोकार राख्ने विषयमा भएका समस्या समाधान गर्नेछु ।

जनताको घरदैलोमा जाँदा कस्ता प्रश्नहरू आए ? उनीहरूका अपेक्षाहरू कस्ता थिए ?

जनताको घरदैलोमा जाँदा धेरैले गोदावरी नगरपालिकाभित्र रहेको हरिसिद्धि गोदावरी, नख्खु टिकाभैरव र ढालाहिटी चापागाँउ सडक निर्माणको माग राखेका छन् । किसानले बजारको व्यवस्था र सहरी क्षेत्रमा खानेपानीको माग आएको छ । यी मागहरू पूरा गर्दै जानेछु ।

गोदावरी नगरपालिकामा अन्य स्थानका तुलनामा सांस्कृतिक सम्पदा संरक्षण भइरहेको पाइँदैन । यस सम्बन्धमा के कस्ता छन् योजना ?

टिकाभैरवको राजकुलो चलाउन सके पाटनसम्मकै ढुंगेधारा चल्छन् । राजकुलोलाई पाटनसम्म पु-याउने योजना अघि बढ्नेछन् । गोदावरीका विभिन्न संस्कृति संरक्षणका लागि विज्ञहरूको राय सल्लाहलाई कार्यान्वयन गर्दै अघि बढ्नेछु । यहाँका रैथाने कला र संस्कृति संरक्षणका लागि ठोस कार्यक्रमहरू ल्याइनेछ ।

गोदावरी नगरपालिकामा तपाईले जित्ने आधार के हो ?

नेकपा एमालेमा देशैभरि लहर आएको छ । गोदावरी नगरपालिकामा पनि एमालेप्रति जनताको आकर्षण छ । म २०५४ सालदेखि जनप्रतिनिधि छु । आजसम्म मैले पराजय भएको रेकर्ड छैन । अहिले पनि पराजय हुने अवस्था छैन । जनता उर्लेको छ । पानी परिरहेको हावाहुरी चलेको बेलामा पनि जनता हाम्रो पछि लागेर नारा लगाइरहेका छन् । हामीले बोलाएर होइन स्थानीय जनता आफैँ जुलुसमा आइरहेका छन् ।
२०५४ सालमा जनप्रतिनिधि भएर काम गर्दा देवीचौर, चापागाउँ लेले, गोदामचौर र गोदावरीजस्ता ठाउँका स्थानीयहरूको मैले सेवा गरेको छु । विकास निर्माणका काममा सहज तरिकाले लैजानुपर्छ भनेर मैले काम समन्वय गरेको छु । त्यसैले मैले सबैको विश्वास जित्नेछु भन्ने लाग्छ ।

भौतिक पूर्वाधार निर्माणमा कस्तो जोड हुनेछ ?

गोदावरी नगरपालिकामा ड्रेनसहितको सडक, फुटपाथसहितको सडक र सडकको स्तरोन्नति गर्ने मेरो मुख्य योजना छ । सातदोबाटो चापागाउँ लेले सडक साँघुुरो भएकाले नख्खु करिडोरबाट निर्माण सामग्री लैजाने व्यवस्था गरिनेछ । भित्री सडकहरू सबै कालोपत्र गर्ने योजना छ । ढलान गर्नुपर्ने अवस्था आए ढलान हुनेछ । पाँच वर्षमा कम्तीमा गोदावरीका ५० प्रतिशतभन्दा धेरै सडकहरू कालोपत्र हुन्छ ।

गोदावरी नगरपालिका पर्यटकीय नगरको रुपमा पनि परिचित छ । यहाँका पर्यटकीय स्थलहरूको पूर्वाधार निर्माण र स्तरोन्नतिका लागि कुनै योजना छन् कि ?

गोदामचौर कोटडाँडा क्षेत्रमा धेरै होमस्टे सञ्चालनमा छन् । तर, सडक राम्रो नहुँदा त्यहाँ जानै समस्या रहेछ । त्यो बाटो बनाइनेछ । देवीचौर, कोटडाँडामा भ्युटावर निर्माण भएपछि रिसोर्ट खोल्नेहरूमा उत्साह छाएको छ । यहाँका सडक स्तरोन्नति गर्नुपर्ने अवस्था छ । हामीले यो काम गर्नेछौं ।

किसान र निम्न आय भएका नगरवासीका लागि कुनै योजना छन् कि ?

गोदावरी नगरपालिकामा रहेका किसानहरूलाई परिचयपत्र वितरण गर्नेछु । उनीहरूलाई नगरबसमा छुटको व्यवस्था हुनेछ । किसान परिचयपत्र पाएकाहरूले मात्रै सरकारी अनुदान दिने व्यवस्था हुनेछ ।


Published :२६ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media