मतदातालाई पैसा बाँड्ने कांग्रेस उम्मेद्वार प्रहरी नियन्त्रणमा

राष्ट्रपाटी न्युज

२९ बैशाख २०७९

गोरखा । गोरखामा नेपाली कांग्रेसका उम्मेद्वारसहित गाडीलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई बुझाएका छन् ।

बिहीबार गण्डकी गाउँपालिका-५ दर्बुङबाट कांग्रेसका वडा सदस्य उम्मेद्वार रत्नमान श्रेष्ठसहितको टोलीलाई स्थानीयले रोकेर प्रहरीलाई बुझाएका हुन् । मौन अवधिमा गाडी भाडामा लिएर मतदातालाई पैसा बाँड्न हिँडेको आरोप लगाउँदै माओवादी निकट स्थानीयले रोकेर प्रहरीलाई बुझाएका हुन् ।

श्रेष्ठ गण्डकी गापा-५ मा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्य पदका उमेद्वार हुन् । उनीसँगै सो वडाका कांग्रेस वडा सचिव जीवनाथ खनाल, बहादुर गुरुङ लगायतको टोली बा२०च ४४०० नम्बरको बोलेरो जीपमा सवार थिए ।

स्थानीयले खबर गरेलगत्तै घ्याल्चोक प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको र जीप नियन्त्रणमा लिएको इन्स्पेक्टर ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ‘स्थानीयले फोन गरेपछि हाम्रो टोली घटनास्थल पुगेको थियो । ६ जना कांग्रेसका टोली जीपमा रहेछन् । उनीहरूलाई छाडेर जीप नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ’, श्रेष्ठले भने ।


Published :२९ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media